
काठमाडौं । वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटा गम्भीर स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका छन् । शुक्रबार राति देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि अस्पताल प्रशासन र देवकोटा परिवारले स्पष्टोक्ति दिएको छ ।
गएको वैशाख १५ देखि काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार गराइरहेका ६१ वर्षका डाक्टर देवकोटाको स्वस्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार बेलुकी गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । तर अहिले भेन्टिलेटरबाट निकालिएको छ । उनको कलेजोको भेट्नोमा मासु पलाएको र पित्त थैलीमा क्यान्सर भएको डाक्टरहरुले बताएका छन् ।
बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका देवकोटाले शनिबार बिहान पानी पिएको अस्पताल प्रशासनले जानकारी दिएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाहको पछि नलाग्न समेत परिवारले आग्रह गरेको छ । ‘हामी जवाफ दिँदादिँदा थाकेका छौं,’ परिवार स्रोत भन्छ,’सामाजिक सञ्जालमा अफवाह फैलाउने काम नगरौं । हामी उहाँको स्वास्थ्य लाभको लागिभरमगदुर प्रयास गरिरहेका छौं ।’









