
काठमाडाैँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडांैमा हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको आईतबार बसेको बैठकले विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय पनि गरेको छ।
शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी पनि स्विकृत गरेको छ। प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारगार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्विकृत गरिएको पनि सरकारका प्रवक्ता बास्कोटाले स्पष्ट पारे। मन्त्रिपरिषद बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना संचालन कार्यविधि, २०७५ लाई पनि स्वीकृत गरेको छ। त्यसैगरी सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।
प्रवक्ता बास्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धि विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको उनले बताए। सरकारले विद्यार्थी भर्ना अभियान अन्तर्गत अझै ५९ हजार विद्यार्थीहरु विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरुलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान संचालन गर्ने निर्णय पनि गरेको छ।








