
बागलुङ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन् । आइतबार बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको बताए । पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गरे ।
नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो औँल्याए । फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो ।
‘दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ,’ उनले भने । नेता पौडेलले विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरिने बताए । धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उहाँले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए ।
‘हामी कम्युनिष्टहरु समेट्दै जान्छौँ, नेपाली काँग्रेसले पनि नजिकका दलहरुलाई एकतामा ल्याओस्,’ उनले भने ।








