
काठमाडौं । दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो रु कसैले पत्ता लगाउन सकेको छैन । सञ्चारमाध्यमदेखि सर्वसाधारण समेतले यतिबेला त्यो सम्म दुःखद हत्याकाण्डको चर्चा परिचर्चा गरिरहेका छन् । तर डेढ दशक वितिसक्दा पनि सधैं चर्चा मात्र भइरहने यो हत्याकाण्ड कसरी भयो भन्ने विषय चाँहि अझै रहस्यकै गर्भमा छ ।
स्वर्गीय राजा विरेन्द्रको वंशनाश हुनेगरि २०५८ जेठ १९ गते शुक्रवार राति तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ । इतिहासको गर्भमा रहस्यकोरुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन भने हुन सकेको छैन ।
तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा देखाएको असंवेदनशील ब्यवहार र फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बन्न पुगेको थियो । घटनालगत्तै छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पार्यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझै पत्याएका छैनन् ।
तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध भयो । हत्याकाण्डको वैज्ञानिक छानबिन नहँदै त्यसका प्रमाणहरु नष्ट पार्ने काम भएको बताइन्छ । घटना यतिबर्ष भइसक्दा नारायणहिटी दरबारभित्र हत्याकाण्ड भएको भवन भत्काइसकिएको छ भने अन्य प्रमाणहरु सबै नष्ट गरिएको छ । दरबार हत्याकाण्ड र त्यसपछिको जनआन्दोलनले २ सय ४० वर्षदेखि शासन चलाउँ आएको राजसंस्थाको जग नराम्ररी भत्कियो ।
जनताको नजरमा वीरेन्द्रले उदारवादी राजाको छवि बनाएका थिए । उनकै व्यक्तित्वका कारण राजसंस्थाप्रतिको आस्था बढेको थियो । तर राजा वीरेन्द्रको वंशनाश हुने बित्तिकै दरबारप्रति जनतामा वितृष्णा जाग्दै गयो । दाजुको वंशनाश हुँदा पनि सपरिवार कुसल रहेका र राजा बन्ने भाग्यमानी ठहरिएका ज्ञानेन्द्रले स्व.विरेन्द्र शाहको अवलम्बन गरेको प्रजाातान्त्रिक बाटोलाई बन्द गर्ने चेष्टा गरेपछि जनतामा राजसंस्थााप्रतिको वितृष्णा चरम चुलीमा पुग्यो ।
श्रीपेच खुला भएन
नेपाल सरकारले आर्थिक वर्ष २०६८-६९ को बजेट कार्यक्रममा श्रीपेच हेर्न पाउने सर्वसाधारणले योजना अगाडि सारे पनि अझैसम्म सार्वजनिक गरिएको छैन । हालसम्म सैलुन कक्षमा श्रीपेचलाई बन्द गरी राखिएको छ । सुर्खेत कक्षमा श्रीपेच राख्नका लागि बुलेट प्रुफ सिसासहितको फ्रेम तयार भइसकेको छ ।








