
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सरकारका एक मन्त्रीले सरकारको विरोध गर्ने बुद्धिजिवीहरुलाई जखमल्ले वुद्धिजिवीको संज्ञा दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शनिबार राजधानीको एक साक्षात्कारमा सरकारको आलोचना गर्ने बुद्धिजिवीलाई पैसा लिएर लेख्ने जखमल्ले वुद्धिजिवीको उपमा दिएका हुन् । ‘नेपालमा ‘जखमल्ले’ बुद्धिजीवीहरु धैरै छन्, तीनले गरेका भविष्यवाणी केही पनि पुग्दैनन्, केही मिल्दैनन,’ मन्त्री पण्डितले भने, ‘होला लेख लेखे वापत उनीहरुलाई आम्दानी होला, बुद्धिजीवीहरुले त्यतिबेला संविधान नै जारी हुँदैन, यदि भयो भने पनि लागु हुँदैन भनेर बोलेका थिए, तर अहिले परिणाम हेर्नुहोस्, हामीले सबै लागु गरेर देखाईदिएका छौं ।’
उनले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी समेत गरे । उनले भने,‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो ।’
विगतका सरकारहरुले हिम्मतका साथ आफ्नो देशको कुरा अरुसँग राख्न नसकेको आरोप लगाउँदै मन्त्री पण्डितले भने,‘तर अहिलेको हाम्रो सरकारले हिम्मतका साथ कुरा राखेको छ, यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु, अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, जनतालाई सुशासन र समृद्धि दिलाउँछौं।’
मन्त्री पण्डितले आउने असारसम्म दश हजार कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा झिटीगुन्टा बोकेर पठाउने स्पष्ट पारेका छन् । उनले भने,‘दश हजार कर्मचारीहरुलाई अब तोकिएको कार्यक्षेत्रमा पठाउँछु, यदि जान मान्नुभएन भने म कारबाही गर्न म तयार छु, कार्यक्षेत्र जान नमान्ने कर्मचारीहरुलाई विदा गरेर घर पठाईदिन्छु।’
उनले राजनीतिक संक्रमणकालको अन्त्य भएपनि प्रशासनिक संक्रमणकाल अझैपनि जारी रहेको बताए । उनले भने,‘अब यो आउने असार मसान्तभित्रै अर्थात् नयाँ आर्थिक वर्ष सुरुसँगै म प्रशासनिक संक्रमणको अन्त्य गर्छु, मैले यो मन्त्रालय सम्हालेको जम्मा दुई महिना भयो, संगठन र संरचना तयार थिएन, अहिले १० प्रतिशत प्रक्रिया सुरु भएको छ, अब असारसम्म सय प्रतिशत पुर्याउँछु ।’








