घट्यो देउवाको हैसियत: नेविसंघमा पक्षधर पाउनै मुस्किल,युवा पुस्ताको रोजाइमा पनि परेनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व झनै बढ्दै गएका कारण सभापति देउवालाई केन्द्रीय समिति तथा विभागलाई पूर्णता दिन समस्या भएको छ । एक महिनाअघि पदाधिकारी मनोनयन गरेका सभापति देउवा जेठभित्रै केन्द्रीय समिति तथा विभागहरूलाई पूर्णता दिने तयारीमा थिए ।

असार पहिलो साता हेटौँडामा जिल्ला कार्यसमिति पदाधिकारीहरूको भेला सभापति देउवाले बोलाएका छन् । जिल्ला पदाधिकारी भेलाअघि नै केन्द्रीय समिति तथा विभागहरूलाई पूर्णता दिने वचन सभापति देउवाले केन्द्रीय समितिको पछिल्लो बैठकमा दिएका थिए ।

विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र केन्द्रीय समिति तथा विभागलाई पूर्णता दिनुपर्ने थियो । तर, महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना बितेको छ । अब सभापति देउवाको कार्यकाल एक वर्ष नौ महिना मात्रै बाँकी छ । महाधिवेशनको पूर्वतयारीका लागि नै एक वर्षको समय लाग्ने भएकोले अब देउवाको वास्तविक कार्यकाल नौ महिना मात्रै बाँकी छ । त्यसपछि स्थानीय, प्रदेश अधिवेशनमा होमिनुपर्छ ।

पार्टी सभापति निर्वाचित भएलगत्तै देउवाले केन्द्रीय समितिलाई पूर्णता दिनेभन्दा भ्रातृ संगठनका महाधिवेशन गराउने कामलाई प्राथमिकता दिएका थिए । खासगरी नेविसंघ, तरुण दल र महिला संघ महाधिवेशन हुन नसकी तदर्थवादमा चलिरहेका थिए । पार्टी सभापति निर्वाचित भएको एक वर्षभित्रै देउवाले यी तिनै वटा भ्रातृ संगठनको महाधिवेशन गराए ।

तीन वटै भ्रातृ संगठनमा सिटौला पक्षसँग तालमेल गरी सभापति देउवा पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्रतिनिधित्व करिबकरिब शून्यमा झारिदियो । पार्टीभित्र करिव ३५ प्रतिशत हैसियत भएको र लामो समय संस्थापन पक्षका रूपमा रहँदै आएको पौडेल पक्ष नेविसंघ, तरुण दल र महिला संघ जस्ता महत्वपूर्ण भ्रातृ संगठनमा भूमिका शून्य भयो ।

पौडेल पक्षलाई भूमिका शून्य बनाउनु सभापति देउवाका लागि पिसावको न्यान्यो मात्रै भएको यतिबेला प्रमाणित भएको छ । पहिलो कुरा त पार्टीको करिब ३५ प्रतिशत शक्ति भूमिकाविहीन भएकै कारण यी तीन वटै भ्रातृ संस्थाहरूले गति लिन नसक्दा चुनावमा सिंगो कांग्रेस पार्टीले ठूलो क्षति बेहोर्यो । दोस्रो सिटौला समूह देउवाको साथ छाडेर पौडेल पक्षतिर लाग्यो । जसका कारण कांग्रेसभित्रको शक्ति सन्तुलन ५०-५० प्रतिशतको अवस्थामा पुगेको छ ।

जसरी पार्टीमा पौडेल पक्ष र सिटौला समूह मिलेर समानान्तर गतिविधि सुरु गरेका छन्, भ्रातृ संगठनमा पनि त्यही अवस्था देखिएको छ । सिटौला समूह पौडेल पक्षमा लागेपछि सम्पन्न भएका सबै भ्रातृ संगठनको महाधिवेशनमा सभापति देउवा पक्षले करारी हार बेहोरेको छ । सभापति देउवाका लागि सबैभन्दा ठूलो समस्या नेपाल महिला संघ र नेविसंघमा देखिएको छ । नेपाल तरुण दलमा त महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि चार जना केन्द्रीय पदाधिकारीबाहेक अरू विस्तार हुन सकेको छैन ।

सहमतिका आधारमा अध्यक्ष र कोषाध्यक्ष सभापति देउवा पक्षलाई, उपसभापति सिटौला पक्षलाई र महामन्त्री पौडेल पक्षलाई दिइएको थियो । तर, सिटौला र पौडेल पक्षका पदाधिकारी समेत संस्थापन पक्षमा लागेकोले नेपाल तरुण दलमा भने सभापति देउवालाई खासै समस्या छैन ।

नेपाल महिला संघ र नेविसंघमा भने सभापति देउवालाई निकै अप्ठेरो पारिएको छ । पौडेल पक्षको साथ लिएर सिटौला पक्षका महामन्त्री कुन्दन काफ्लेले समानान्तर गतिविधि सुरु गरेका छन् । महामन्त्री काफ्ले पक्ष बढ्दो महँगी र ‘कम्युनिस्टकरण’ विरुद्ध शुक्रबारदेखि सडक आन्दोलनमा उत्रेको छ ।

सरकारविरुद्धको यो आन्दोलनमा पौडेल पक्षका मनोजमणि आचार्य, प्रतिमा गौतमलगायतले साथ दिइरहेका छन् । पार्टीभित्र गगन थापाको क्रेज जबरजस्ती बढ्दै गएपछि प्रवक्ता विश्वप्रकाश शर्माले मनोजमणि आचार्य र प्रतिमा गौतमलाई सभापति देउवा कहाँ पुर्यएका थिए । देउवाले विधान संशोधन भएपछि पार्टीको केन्द्रीय सदस्य बनाइदिने आश्वासन पनि दिएका थिए । तर, उनीहरू देउवा पक्षमा एक साता पनि टिक्न सकेनन् ।

युवा पंक्तिका प्रायः सबै गगन थापातिर लागेकै कारण नेविसंघमा देउवाको पक्षमा खुलेर देखिन नसक्ने अवस्था सिर्जना भएको एक नेताले सौर्यलाई बताए । उनले भने, ‘४० वर्ष मुनिका युवा तथा तरुणहरू एक जना पनि देउवा पक्षमा खुलेर लाग्न तयार देखिँदैनन् ।

यस्तो अवस्थामा म देउवा पक्षको हुँ भनेर कसरी भन्ने ? भविष्य चौपट हुँदैन ?’ नेविसंघ आफ्नो नियन्त्रणभन्दा बाहिर गएपछि विघटनबाहेक सभापति देउवासँग अर्को विकल्प नरहेको निकटस्थ स्रोतले बताएको छ । अध्यक्ष नैनसिंह महरका गतिविधिसँग पनि सभापति देउवा खुसी छैनन् ।
महिला संघलाई भने जोगाउने अभियानमा सभापति देउवा लागेका छन् । उनले महिला संघ पुनर्गठन गरी सिटौला पक्षका सबैलाई हटाउने तयारी गरेका छन् । महामन्त्रीमा मञ्जु खाणलाई मनोनीत गरिएको छ ।

निर्वाचित महामन्त्री धनकुमारी खतिवडामाथि अनुशासन उल्लंघनको कारबाही अघि बढाउने तयारी भएको समाचार स्रोतले जनाएको छ । तर, आफूलाई हटाइए संघर्ष गर्ने चेतावनी खतिवडाले दिइसकेकी छन् । सौर्य दैनिकमा समाचार छापिएको छ ।

सम्बन्धित शिर्षकहरु