हत्या हुने आशंका पछि ‘गोरे’को आत्मसमर्पण ! काठमाडौं आएको सूचना परिवारवाटै (पत्रसहित)

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे आत्मसमर्पण गर्न नेपाल आफैं आएको खुलेको छ। उनले आफ्नो ज्यान जाने खतरा देखेपछि आत्मसमर्पण गरेको आशंका गरिएको छ। गोरेलाई छानबिन समितिले काठमाडौंको गौरीघाटबाट बिहान साढे पाँच बजे पक्राउ गरेको थियो।

स्रोतका अनुसार गोरे सोमबार काठमाडौं आएका थिए। उनी काठमाडौं आएको कुरा उनका परिवारले समितिलाई सूचना दिएपछि उनलाई मंगलबार पक्राउ गरिएको हो। सार्वजनिक गर्ने क्रममा मास्क र टोपी लगाएका गोरेले सबै सामु आफ्नो अनुहार प्रष्ट पारेका छन्।

उनले पत्रकारहरुकै सामु मास्क र टोपी फुकालेका थिए। गोरेले नेपाल मानव अधिकार संगठनमा आफ्नो ज्यानको रक्षा गरिपाउँ भनि निवेदन दिईसकेका छन्। उनले उक्त निवेदन दिनुमा पनि उनको माथि अरु धेरै खेलाडीहरु रहेको र उनीहरुबाट आफ्नो ज्यान जाने डर रहेको स्पष्ट हुन आउँछ।

उनले २०७५-०२-०३मा संगठनलाई पत्र लेखेका थिए। जीवन रक्षाको मागसहित गोरेले बक्तब्यमा भनेका छन् – ‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चितगराउने र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथा म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानमिन समिति समक्ष राख्न चाहान्छु ।’ जेठ ३ गते लेखेको निवेदनमा गोरेले केही विषयमा गम्भीर खुलासा समेत गरेका छन् ।

उनले लेखेका छन् – ‘यस वीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीन जनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाइसकेको हुँदा मेरो पनि जीवन खतरापूर्ण रहेको देखिन्छ । हाल म लुकी छिपी बाँच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन । सो सम्बन्धमा म सँग रहेका, भएका विषय राख्ने वातावरण वनाइदिन अनुरोध गर्दछु ।’ गोरेले लेखेको निवेदनमा खासगरी आफ्नो जीवन रक्षाको माग पटक–पटक गरेका छन् ।

उनले लेखेका छन् – ‘मेरो जीवनको रक्षा होस् । कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईं मार्फत नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु । सुरक्षित रुपमा न्यायलयमा पुग्न सक्ने मिति, स्थान र समयमा प्रबन्ध मिलाई दिन हुन समेत अनुरोध गर्दछु ।’ गोरेले निवेदनमा उल्लेख गरे बमोजिमको तीन जनाको मृत्यु भएको भन्ने सम्बन्धमा भने उनले केही उल्लेख गरेका छैनन् । तर उनले कानुनलाई सघाउने प्रतिबद्धता भने ब्यक्त गरेका छन् ।

यस्तो थियो घटना

माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा साढे ३३ किलो सुन भित्रिएर पनि हराएको थियो। ३३ किलो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए थाई एयरवेजमा वरिष्ठ प्राविधिक सानु वनले। वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो। २२ माघमा सुन गायब भएपछि सुनका मालिन गोरेलगायतको समूहको टर्चर सहन नसकेर उनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए। वनपछि उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो। उनी गारेको नजिकको सहयोगी समेत थिए। हराएको सुनको सूचना फुत्काउने कोसिसका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको थियो। शाक्यको शव अपराध महाशाखाको प्रहरी टोलीले इटहरीबाट बरामद गरेको थियो।

घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुनको अवैध कारोबार गरेको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

को हुन् गोरे ?

प्रहरीका उच्च अधिकारीदेखि हाइप्रोफाइल व्यापारीहरूसँगको साँठगाँठमा चार वर्षमा सुन तस्करीको साम्राज्य चलाइरहेका व्यक्ति चुँडामणि उप्रेती ‘गोरे’ हुन् । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी छानबिन गर्न सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवम् फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको रहस्य खुलिसकेको छ । जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ ।

सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ । उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ । पाँच वर्षको अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्र्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको थियो ।

‘गोरे’ अवकाशप्राप्त नेपाल प्रहरीका पूर्व असई नेत्र उप्रेतीका जेठा छोरा हुन् । उनी ‘रुपेश’ नामले समेत परिचित छन् । मोरङको साविक इटहरा (हाल रतुवामाई नगरपालिका) बाट २०५० सालतिर उर्लाबारी बसाई सरेका नेत्रले आफ्ना दुई छोरा गोरे र रमेशलाई स्थानीय सरस्वती माविमा भर्ना गरेका थिए । गोरेले बीचैमा पढाइ छोडेर भारतीय सेनामा चार वर्ष जागिर खाए । त्यसपछि ३६ वर्षीय गोरे वैदेशिक रोजगारीका लागि दुबई पुगे । त्यतिबेलासम्म उर्लाबारी– ७ स्थित पशुपति मार्गमा उनको २ तले घर मात्र थियो । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थाले ।

नजिकबाट चिन्नेहरू भन्छन्—त्यसपछि उनको हैसियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए । वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदाङ्गो भएको छ । दुबई गए लगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भयो । गोरे सुन तस्करीको भरियाका रूपमा उनले तस्करीको क्षेत्रमा प्रवेश गरेका हुन् । ‘चतुर’ गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए ।

उनी भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपाल बसी कारोबार विस्तार गर्न सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले आफ्नो कारोबारलाई संगठित रूपमा अघि बढाउँदै गएका थिए । उनले प्रहरीसँग ‘मामा’को साइनो लगाई सेटिङ मिलाउने गरेका थिए । निज (गोरे) ले उसको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरूलाई मामा भनी सम्बोधन गर्ने र मलाई समेत निजले मामा भनी सम्बोधन गर्ने गरेको थियो–सुन तस्करीकाण्डमा मुछिएका नेपाल प्रहरीका सई बालकृष्ण सन्जेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

गोरेका बारेमा जानकारी राख्ने एक युवाका अनुसार पाँच वर्ष दुबई बसेर उनी त्यहींबाट सुन पठाउने र हुन्डीको कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए । त्यसपछि उनी नेपाल फर्किएर दुबई, सिंगापुर, थाइल्याण्ड आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँदेखि भारतसम्म सप्लाई गर्ने धन्दामा सक्रिय रहेको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

पहिले दुबईमै बसेर सुन पठाउने काम गरेको पाइयो, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने—पछि उ, आफैं नेपाल फर्किएर कारोबारीका रूपमा सुन तस्करी गर्न थालेको पत्ता लागेको छ । ‘सुन तस्करीका कारण गोरेका लागि नेपाल र दुबई उनको पानी पँधेरो जस्तै देखियो, अनुसन्धानमा संलग्न एक अधिकारीले भने–उनी एक साता नेपाल बसे भने दुई साताभन्दा बढी दुबई बस्थे ।

कुस्त सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई काठमाडौं सिफ्ट गराएका थिए । करिब सात–आठ वर्षदेखि गोरेका आमा–बुबा र गोरे बेला–बेला उर्लाबारी आएर बस्ने गरेका थिए । पहिले बस्दै आएको उर्लाबारीको दुईतले सानो पक्की घर उनीहरूले भाडामा लगाएका छन् । गोरेले काठमाडौंमा चार तले घर बनाएको चर्चा उर्लाबारीमा चलिसकेको थियो ।

यस्तो छ पक्राउ पर्नु अघि बुझाइएको पत्र :

सम्बन्धित शिर्षकहरु