
विराटनगर । भारतले विराटनगरस्थित राजदूतावासको क्याम्प अफिस हटाउने निर्णय गरेको छ। २०६५ सालमा आएको कोशी बाढीपछि सो क्याम्प अफिस स्थापना गरिएको थियो। स्थापनायता विराटनगरमा सो अफिसले बढाएको सक्रियताको विषयलाई लिएर सो अफिस विवादित हुँदै आएको थियो। नेपालमा त्यसको विरोध हुँदै आएको थियो।
भारतीय विदेश मन्त्तालयका प्रवक्ताले सो अफिस खोल्नुको उद्देश्य पूरा भइसकेकोले बन्द गर्ने निर्णय गरिएको बताएका छन्। गतसाता नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई सो निर्णयबारे जानकारी दिएको पनि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।
केही दिनअघि प्रधानमन्त्री ओलीले विराटनगरको सो क्याम्प हट्ने बताएका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सो अफिस हटाउने निर्णय भारत सरकारले गरेको जनाएका छन्। ६ वर्षअघि नै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सो अफिस हटाउन उनले भारतीय दूतावासलाई पत्र लेखेका थिए। तर भारतीय दूतावासले अटेरी गर्दै अफिस सञ्चालनमा राखेको थियो।
भारतको यो अटेरीलाई हस्तक्षेपको उदाहरणको रुपमा चित्रित गरिँदै आएको छ। २०६५ भदौमा कोशीको बाढीले गर्दा नेपाली सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आयो। तिनै सवारीलाई भारतीय भूमिमा गुड्ने अनुमति दिन सो क्याम्प स्थापना गरिएको थियो।








