रेल,पानी जहाज ओली सरकारको उच्च प्राथमिकतामा,पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन

काठमाडौं । सरकारले रेलमार्गको निर्माण र पानी जहाज सञ्चालनको योजनालाई उच्च प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री केपीशर्मा ओली सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा मेची महाकाली रेलमार्गको निर्माण, केरुङ काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग र काठमाडौं बिरगञ्ज रेलमार्गलाई उच्च प्राथमकितामा राखेको हो ।

त्यस्तै, कोशी, गण्डकी र कर्णाली नदिमा पानी जहाज सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था पनि आगामी आर्थिक बर्षभित्रै गरिसक्ने योजना सरकारले अघि सारेको हो । त्यस्तै वाम गठबन्धनको सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ। नीति तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ। कार्यक्रममा सरकारी रुग्ण उद्योग सार्वजनिक- निजी साझेदारीमा संचालन गर्ने उल्लेख छ।

सिमेन्ट उत्पादनलार्इ बढाएर विदेशमा समेत निर्यात गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पछिल्लो समयमा मुलुकभित्र ठूला क्षमताका सिमेन्ट उद्योग स्थापना हुने क्रम बढेको छ। दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने होङसी शिवम् सिमेन्ट संचालनमा आइसकेको छ भने अरु तीन हजार टन क्षमता भएको उद्योग पनि आउने क्रममा रहेका छन्। संचालनमा रहेका उद्योगले समेत क्षमता बढाइरहेका छन्। अर्घाखाँची सिमेन्टले तीन हजार टन उत्पादन थालिसकेको छ भने घोराही सिमेन्टले केही समयमै चार हजार टन क्षमतामा बिस्तार गर्दैछ।

सम्बन्धित शिर्षकहरु