
एजेन्सी । क्युबामा विमान दुर्घटना हुँदा एक सय भन्दा धेरैको ज्यान गएको छ। विमान दुर्घटनामा परेका ३ जनाको भने जीवितै उद्धार गरिएको वीवीसीले जनाएको छ।होलगुइनका लागि उडेको बोइङ ७३७–२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको हो।
चालक दलका सदस्यसहित ११० जना सवार विमान स्थानीय समयअनुसार शुक्रबार दिउँसो १२ बजे दुर्घटनामा परेको हो।विमानका अधिकांश यात्रु क्युबाका थिए भने विमानका कर्मचारी मेक्सीकोका भएको वीवीसीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनास्थलको अवलोकनपछि दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन्।जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो।
क्युबामा सन् १९८० को दशकयता पहिलो पटक यो ठूलो र दुःखद दुर्घटना भएको छ। यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ। यस दुर्घटनाका कारण यसमा परेका क्युबाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचारहरु आइरहेका छन्। उडेलगत्तै कसरी विमान खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरुले घटनास्थलमा अनुसन्धान थालेका छन्।








