काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार (वैशाख ३० गते) सार्वजनिक विदा हुने भएको छ। काठमाडौं उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो।

रथ तान्ने तिथि पाटन कृष्ण मन्दिर अगाडिको सत्तलमा ज्योतिषीहरुले साइत निकालेपछि जुर्छ। गएको हप्ता ज्योतिषीहरुले रथ जाउलाखेल तान्ने दिन आज (वैशाख २७ गते बिहीबार) तोकेका थिए। सोही अनुसार भोटो देखाउने जात्रा वैशाख ३० गते आइतबार हुँदैछ। सरकारले यो वर्षदेखि विदा कटौति गरेको भए पनि काठमाडौं उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ।

उपत्यकाले मात्र पाउने अन्य विदामा गाईजात्रा भदौ ११ गते सोमबार, इन्द्रजात्रा असोज ८ गते सोमबार र घोडेजात्रा चैत २२ गते शुक्रबार परेको छ।गएको चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनामा भोटोजात्राको विदाको दिन भने तोकिएको थिएन।

वैशाख ६ गतेदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख उपस्थित हुने परम्परा छ। भोटोजात्रा मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याएको दिनसमेत गनेर चौथो दिनमा हुने गर्छ। यस पटक जेठ ३ गतेदेखि मलमास (अधिकमास) परेको हुनाले जात्रा छिट्टै सकिएको हो।

सम्बन्धित शिर्षकहरु