
नयाँ दिल्ली । सिक्किममा व्याप्त विभेद, भ्रष्टाचार र बेथिति अन्त्य गर्ने दाबीसहित भारतका चर्चित फुटबलर भाइचुङ भुटियाले नयाँ पार्टी घोषणा गरेका छन् । राजधानी दिल्लीमा आयोजित कार्यक्रममा भुटियाले ‘हाम्रो सिक्किम पार्टी’ घोषणा गरेका हुन् ।
भारतीय फुटबल टिमका पूर्व कप्तान भुटियाले खेल जीवनबाट संन्यास लिएपछि त्रिणमुल कांग्रेसबाट राजनीतिक करिअर सुरु गरेका थिए। त्रिणमूलले भुटियालाई सन् २०१४ को लोकसभा चुनावमा दार्जीलिङ निर्वाचन क्षेत्रबाट उम्मेद्वारसमेत बनाएको थियो । तर, उनी पराजित भएका थिए।
पार्टी घोषणा कार्यक्रममा उनले सिक्किममा प्रचार गरिएजस्तो विकास नभएको र जताततै बेथिति रहेको दावी गरे। ‘मेरो घर जाने बाटो मैले देखेदेखि पिच भएको छैन, जताततै भ्रष्टाचार व्याप्त छ,’ भुटियाले भने। साथै उनले मुख्यमन्त्री पवन चाम्लिङको सरकारमाथि राज्यमा अधिनायकवाद लादेको आरोपसमेत लगाए।
मुख्यमन्त्री चाम्लिङले नेपाली जातिलाई उपेक्षा गरेको र तामाङ तथा लिम्बुलाई प्रतिबद्धताअनुरुप दिनुपर्ने विशेष राजनीतिक आरक्षणसमेत नदिएको आरोपसमेत भुटियाले लगाए।
‘अर्गानिक सिक्किम’ को अवधारणाप्रति आफ्नो समर्थन भए पनि त्यसको कार्यान्वयन पक्षमा धेरै विसंगति रहेको बताउँदै उनले त्यसलाई परिमार्जन नगरी अहिलेकै स्वरुपमा लागू गर्दा सिक्किमलाई उल्टो हानी हुने दावी गरे। ‘अर्गानिक सिक्किम भन्ने अनि केही पनि आफ्नो ठाउँमा उत्पादन नगरेर सबै बाहिरबाट ल्याएपछि कसरी रोजगारी सिर्जना हुन्छ, कसरी राज्य धनी हुन्छ’ भुटियाको तर्क थियो।
पार्टीको अध्यक्ष को हुन्छ त भन्ने प्रश्नमा उनले ‘स्वच्छ छवि र अति नै प्रतिष्ठित व्यक्ति हुने’ जवाफ दिए। आफ्नो नयाँ पार्टी समग्र सिक्किमको वृहत्तर हितसँगै र हाल उपेक्षाको शिकार भएका नेपालीलगायतका जातिहरुको हक अधिकारको पक्षमा उभिने दावी गरे। आफ्नो पूर्व पार्टी त्रिणमूलमा रहँदा पनि गोर्खाल्याण्डलगायतका विषयमा असहमति रहेको उनले खुलासा गरे।
राजनीतिक करिअरमा सफलताको स्वाद चाख्न बाँकी नै रहे पनि खेल क्षेत्रमा भने उनले लोभलाग्दो उचाइ पाएका थिए। खेलजीवनको अधिकांश समय कोलकताको इष्ट बंगाल क्लबमा आबद्ध रहेका भुटियाको नेतृत्वमा भारतले नेहरु कप, साफ च्याम्पिअनसिपजस्ता प्रतियोगिता जितेको थियो। उनले सन् २०११ मा खेल जीवनबाट अवकास लिएका हुन्। सिक्किम मूल घर भएका भुटियाले अर्जुन अवार्ड र पद्मश्रीजस्ता भारतका उच्च सम्मानसमेत पाइसकेका छन्। अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।








