
चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिएका छन् । शुक्रबार भरतपुरमा कांग्रेस चितवनद्वारा आयोजित कार्यक्रममा नेता थापाले अहिलेको ठूलो पार्टी एमाले प्राइभेट कम्पनी भएको दाबी गरेका हुन् ।
कार्यक्रममा उनले भने, ‘एमालेमा १० लाख शेयर होल्डर छन् । कम्पनीको फाइनान्स तलमाथि भए १० लाख मानिसको जिविकोपार्जनमा असर पर्छ ।’ थापाले एमाले खुम्चियो र फाइनान्स विग्रियो भने १० लाख मानिसको घर हल्लीने बताए । कांग्रेस सरकारमा गएर जिविकोपार्जन गर्ने पार्टी नभएको भन्दै उनले आस्थाले बनेको कांग्रेस पार्टी कहिल्यै कम्पनी नबन्ने बताए ।
एमाले र माओवादी केन्द्रले कम्युनिष्टको खोल ओडेर चुनाव जितेको नेता थापाको जिकिर छ । उनले कांग्रेसले बनाएको छायाँ सरकारले जनताका दैनानुदिन कार्यक्रममा भूमिका खेल्ने र अबको पाँच वर्षमा कांग्रेस पहिलो पार्टी बन्ने भन्दै कार्यकर्तालाई सोहि हिसाबले लाग्न निर्देशन दिए ।








