
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल कुनैपनि कार्यक्रममा सहभागी हुने अतिथिहरुको स्वागका लागि विद्यार्थीको प्रयोग गरी उनीहरुलाई लाइनमा राख्न नपाइने भएका छन् । मन्त्री पोखरेलद्वारा विहीबार जारी विज्ञप्तिमा विद्यार्थीलाई परम्परागत शैलीमा लाइनमा राखेर स्वागतका लागि प्रयोग गर्न नमिल्ने बताउँदै तत्काल हटाउन माताहतका निकायलाई निर्देशन दिएको छ ।
बुधबार गोरखाको पालुङटार नगरपालिका वडा नम्बर–८ लुइँटेलमा रहेको भूकम्प प्रभावित अमर ज्योति जनता माध्यमिक विधालयको निरीक्षणमा पुगेको मन्त्री पोखरेललाई विद्यार्थीहरुले फुल गुच्छा लिएर गरेको स्वागतको तस्विर संचारमाध्यमहरुमा सार्वजनिक भयो । ती तस्वीरहरुप्रति सामाजिक सञ्जालहरुमा भएको टिकाटिप्पणीप्रति मन्त्री पोखरेलको चिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘हामी कार्यक्रम स्थलमा पुग्दा हातमा फूलको गच्छा लिएर स्वागतका लागि विद्यार्थीहरु लामबद्ध भएर बसेका थिए । ती विद्यार्थीको हौसलाका लागि मन्त्री ज्यूले पनि फूलगुच्छालाई स्वीकार गर्नुभयो । तर विद्यार्थीलाई यसरी परम्परागत शैलीमा लामबद्ध गरेर अतिथिको स्वागत गर्नु जरुरी छैन । माननीय मन्त्री ज्युले तत्काल शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल र शिक्षा विकास तथा समन्वय इकाई गोरखा जिल्ला प्रमुख दीपेन्द्र सुवेदीलाई कुनैपनी कार्यक्रममा बिद्यार्थीलाई परम्परागत शैलीमा लाइनमा राखेर स्वागतका लागी प्रयोग गर्न नमिल्ने र यो संस्कार गलत भएको भन्दै आइन्दा नर्गन÷नगराउन निर्देशन दिनुभएको छ । साथैं काठमाण्डौ फर्के लगतै यस्ता संस्कारहरु सदाका लागी अन्त्य गर्न शिक्षा सचिवलाई फाईल तयार गर्न पनि निदेशन दिनुभएको छ ।’
२०७२ को महाभुकम्पमा देशले गुमाएका नागरिकप्रति संम्झना गर्दै हिजो माननीय मन्त्री ज्युले माला र खादा पनि नलगाउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।








