
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासका बाधकहरुलाई हटाउन प्रयासरत भएको बताएका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन, पारदर्शिता र पछौटेपनलाई हटाउन प्रतिवद्ध रहेको बताएका छन् । ‘सरकार विकासका सबै बाधकहरुलाई पन्छाउन तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘९ महिनाको छोटो अवधीमा प्रधानमन्त्री भएर मनमोहनले यी सबै कुराको सुरुवात गर्नुभएको थियो ।’
प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको जीवन अविचलित आस्थाको कठिनाइमा पनि अड्न सक्ने भएको बताए । प्रधानमन्त्री ओलीले नेपालमा कम्यूनिष्ट आन्दोलन सुरु हुनुभन्दा अगाडि देखि नै मनमोहनमा राजनीतिक गतिविधीमा संलग्न रहेको दृष्टान्त दिएका थिए । ‘नेपालमाा कम्यूनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ बर्ष अघि अर्थात वि.सं १९९९ मा मनमोहन भारतबाट अंग्रेज हटाउने अभियानमा भारतीय जेलमा हुनुहुन्थ्यो ।’
नेकपा एमालेले त्यस समयमा मनमोहनको राजनीतिक उचाइको सम्मान गर्दै अध्यक्षको पद सृजना गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता चांडै टुंगिने बताए । ‘चाँडै नै दुई पार्टीको एकता हुदैछ । एकता भएपछि सवल, सुदृढ र एकिकृत कम्यूनिष्ट पार्टीको निर्माण हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो एकताले देशमा मनौवैज्ञानिक र व्यवहारिक हिसाबले ठुलो परिवर्तन ल्याउने छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीको प्रतिमामा माल्यार्पण गरेका थिए । यसैगरी डा. ढाकाराम सापकोटाद्वारा लिखित मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक पुस्तकको पनि प्रधानमन्त्री ओलीले विमोचन गरेका थिए ।








