धरहरा बनाउन प्रधानमन्त्री ओली कोदालो र डोको बोकेर जाने

वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केका संरचनाहरुको पुनर्निर्माणको लागि गीतमात्रै गाएर गाएर बस्ने हो भने बाँकी पुनर्निर्माणको काम अलपत्र पर्ने बताएका छन् ।

पहिलो पटक प्रधानमन्त्री हुँदा मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेका ओलीले विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको अवसरमा भाँचिएको धरहराको छेउमा गरिएको कार्यक्रममा उभिएर अब धरहरा बनाएरै छाड्ने दाबी गरे ।

०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै ओलीले भने, ‘मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु ।’

प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने, ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’

धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

२०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने बताए ।

‘धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।’  ओलीले भने ।

सम्बन्धित शिर्षकहरु