
दक्षिण सुडान । दक्षिण सुडानमा खटिएका नेपाली शान्तिसेनाले बालिका बलात्कार गरेको आरोप लागेको छ। सोमबार संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले सो कुराको जानकारी गराएका हुन्। दक्षिण सुडानमा दुई किशोरीलाई नेपाली शान्ति सेनाले बलात्कार गरेको आरोप अप्रिल १३ मा प्राप्त गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन्।
कति जना नेपाली सो काण्डमा संलग्न भएका हुन्, स्पष्ट नभएको एएफपीले जनाएको छ। संयुक्त राष्ट्रसंघको आग्रहपछि आन्तरिक छानबीनका लागि एक टोली पठाउन नेपाल सहमत भएको पनि एएफपीले जनाएको छ।
बलात्कारको सो घटनालाई प्रवक्ताले जघन्य अपराधको संज्ञा दिएका छन्।








