
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बुद्धिजिवीहरुले देशहितको पक्षमा काम नगरेको भन्दै तीनलाई मुसा प्रवृतिसँग जोडेर तुलना गरेका छन् । नयाँ शक्ति पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई सोमबार पार्टी मुख्यालयमा स्वागत गर्दै उनले मुसाले आफ्नो दाँतको धार तेजिलो बनाउन कपडा काट्ने गरेको भन्दै तर केही बुद्धिजिवीले भने देशलाई नोक्सान गर्न दाँतमा धार लगाएको आरोप लगाए ।
‘मुसाले विगार्नका लागि कपडा काटेको होइन । कपडा काटिरहँदा, खाइरहँदा दाँत लामो भएर आउँछ । मुसाले आफ्नो दाँतको धार तेजिलो बनाउन कपडा काटिरहेको हुन्छ । त्यति दाँत धार लगाउन थाङना मात्र काटे हुने तर नयाँ कपडा पनि काट्छ’ ओलीले भने, ‘केही बुद्धिजिवीले देशलाई नोक्सान गर्न दाँतमा धार लगाउँछन् । रारा ताललाई महेन्द्र ताल पनि भनेको छ । महेन्द्र भन्दा पहिले नै राराताल थियो भन्ने थाहा छैन । कठै !’ विश्वविद्यालयबाट शैक्षिक योग्यता लिएकाहरु केहीको बिश्लेषणप्रति दया लागेर आउने उनले बताए ।
एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै सही पार्टीको छनौट गरेको भन्दै अव राष्ट्र निर्माणको अभियानमा जुट्न आग्रह गरे । ‘एमालेमा प्रवेश गर्नु भनेको स्विमिङ पुलमा पौडेजस्तो होइन । यताबाट पौडिंदा, उता ठोक्किने, उताबाट पौंडिदा यता ठोक्किने । यो प्रशान्त महासागर जस्तो हो । जति सकिन्छ पौडन मिल्न, सकिने महासागर हो’ अध्यक्ष ओलीले भने । ‘समुन्द्रमा छाल पनि आउँछन् । परबाट हेर्दा कस्तो ठूला छाल जस्तो लाग्छ तर नजिक गएर हेर्दा थाहा हुन्छ, समुन्द्र खासै हल्लिएकै हुँदैन । ती सामान्य छाल हुन । त्यस्ता छाललाई के के न हो भनेर भन्नुपर्दैन ।’
एमाले नेपालको समस्या सहि पहिचान र समस्या समाधान गर्न पार्टी भएको भन्दै उनले भने, अन्य पार्टीसँग एमालेको कुनै तुलना नै हुँदैन । उही पार्टी भन्नेमात्र हो । म तुलना गर्न पनि चाहन्न ।’
त्यस्तै नेपाली बस्ने विश्वको कुना कुनासम्म एमाले रहेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्तिको कडा आलोचना गर्दै उनले जे मन लाग्यो, त्यो नबोल्न चेतावनी दिए । यसअघि कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको भारत भ्रमणप्रति टिप्पणी गर्दै ‘लम्पसारवाद’ भनेका थिए ।
‘मेरो भारत भ्रमणलाई लम्पसारवाद भनेको सुनें । अहिलेका प्रधानमन्त्रीको भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हास्छ भन्ने उनले बिर्से’ प्रधानमन्त्री ओलीले भने, ‘भारत गएपछि लम्पसार पर्नुपर्छ भन्ने उनलाई लाग्छ । आफू लम्पसार परेपछि त्यस्तै भन्नुपर्छ भन्ने यिनलाई लाग्यो ।’
प्रधानमन्त्री ओलीले देउवाको नाम नलिई भारत भ्रमणबाट फर्केपछि लम्पसारवाद भन्नुपर्छ भन्ने लागेको र आफूले पनि त्यही गरेकाले त्यस्तो भनेको बताए । ‘के बोल्ने, के नबोल्ने यिनलाई मतलव नहुने । जे मन लाग्यो, त्यही बोल्छन्’ ओलीले भने, ‘अनि सभापतिले बोलेपछि कांग्रेसका अन्य सवैलाई त्यही भन्नुपर्छ लाग्दोरहेछ । त्यसै भन्छन् ।








