काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको बाटोबाट भाग्ने ठाउँ नरहेको बताएका छन् । लेनिन जयन्ति तथा नेपाल कम्युनिष्ट पार्टीको एकता दिवसका अवसरमा राष्ट्रिय सभागृहमा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूहरूसामु पार्टी एकतालाई सफल पार्नेबाहेक अर्को बाटो नभएको बताएका हुन् ।
‘एकतालाई सफल पार्नेबाहेक अर्को बाटो छैन हामीसामु छैन,’ ओलीले भने, ‘अब जुत्ताको साइज मिलेन भनेर नलगाउने होइन, अरु खुट्टा ताछतुछ बनाएर भएपनि त्यही जुत्ता लगाउने हो’, अध्यक्ष ओलीले भने, ‘हामी त्यस्तो अवस्थामा पुगिसक्यौँ, अब एकताबाट भागेर जाने कुनै बाटो छैन ।’
पार्टी एकता अघि केही सामान्य भावनात्मक कुरा आउने, आफ्नो अर्काको भन्ने कुरा आउने भन्दै पार्टी एकतापछि त्यो हराउने बताए । ‘एकताअघि केही सेन्टिमेन्टल कुरा आउँछन्, आ–अर्काको भन्ने कुरा आउँछन्’, ओलीले भने, ‘आज पनि दाँतमा किटिक्क ढुङ्गा लागेजस्तै भयो, अब यस्ता कुरामा अल्झिने बेला छैन, अल्झिनु हुँदैन ।’ ओलीको भनाई दिउँसो ब्यानरको विषयमा एमाले–माओवादी कार्यकर्ताबीच भएको विवादतिर लक्षित थियो । सोही विवादले कार्यक्रम झण्डै चार घण्टा ढिला भएको थियो ।








