काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७५ शुभकामना सन्देश जारी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशको राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने प्रयास भइरहेको बताएका छन् ।
शुक्रवार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले शब्दजालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षतविक्षतु तुल्याइने खतरा बढ्दै गएको बताएका हुन् ।
‘सबै नेपालीहरुको सपना स्वाभिमान र आत्मसम्मानसहितको समृद्ध नेपाल हो । विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोहीस्तरको जीवन जिउने आकांक्षा राख्नु स्वभाविकै हो,’ पूर्वराजा ज्ञानेन्द्रले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘तर यहाँ शब्द जालहरुको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षत विक्षत तुल्याइने खतरा बढ्दै गएको महसूस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो ।’








