यस्तो छ प्रधानमन्त्री ओलीको ३ दिने भारत भ्रमणको कार्यतालिका

काठमाडौं । दोश्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते देखि तीनदिने राजकीय भ्रमणमा भारत जाँदैछन् । पराराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीन दिने भ्रमणका जान लागेका हुन् । उनी शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कनेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण देशको शीर उच्च बनाउँदै विकासको लहर भित्र्याउनेतर्फ केन्द्रित हुने दावी समेत गरेका छन् । तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु, समकक्षी मोदीसँग भेट गर्नेछन् । उनीहरुँंग प्रधानमन्त्री ओलीले दुईपक्षीय हितका विषयमा धारणा राख्नेछन् । भारतीय वरिष्ठ मन्त्रीहरुले नेपालका प्रधानमन्त्री ओलीसँग छुट्टै भेटवार्ता गर्नेछन् ।

यी हुन् भ्रमणका कार्यतालिका

चैत २३ –बिहान ९:०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।

–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।

–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने। नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने ।

–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।

–भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।

–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने।

–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने। रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ।

२४ चैत –बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने।

–भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।

–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रमन्त्री बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।

–त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा द्विप प्रज्ज्वलन गर्ने ।

–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने। लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल।

–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने।

–संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने। ओली र मोदीले सम्बोधन गर्ने।

–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।

–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने।

२५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।

–साँझ दिल्लीबाट स्वदेश फर्किने ।

भ्रमणको उद्देश्य के ?
पहिलो प्रधानमन्त्रीत्वकालमा चिसिएको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रधामन्त्री ओली भारत जान लागेका हुन् । यसै साता एक सार्वजनिक कार्यक्रममा सम्बन्ध सुधारकै लागि भारत जान लागेको औपचारिक रुपमा बताएका थिए । नेपाल र भारतबीच भौगोलिक सुगमता र निकटता भएपनि दुई देशका सम्बन्धका हरेक पहलुहरुमा वर्षौदेखिका समस्याहरुको खात लाग्न छोडेको छैन।

मुलतः निर्वाध व्यापार तथा पारवाहन अधिकार, सीमा अतिक्रमण, सीमापार अपराध, आप्रवासन र आन्तरिक मामिलामा हस्तक्षेपलगायतका कारणहरुले द्विपक्षीय सम्बन्धमा तिक्तता पनि आउँदै जादै गर्ने गरेका छन्। मधेस आन्दोलन र विनाशकारी भूकम्पबाट थलिएको नेपालविरुद्धको आर्थिक नाकाबन्दीका कारण झन्डै–झन्डै मानवीय संकट नै उत्पन्न भएको थियो।

संविधान जारी भएकोमा असन्तुटि जनाउँदै भारतले नाकाबन्दी गरेपछि ओली नेतृत्वको विगतको सरकारसँग सम्बन्ध चिसिएको थियो त्यसबेलाको भ्रमणका क्रममा नेपालमा संविधान जारी भएको विषयमा भारतले स्वागत गर्न समेत कन्जुस्याईं गरेपछि द्विपक्षीय वक्तव्य समेत जारी भएको थिएन ।

स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै तहका चुनावमा एमाले नेतृत्वका बाम गठबन्धन शक्तिशाली रुपमा उदाएपछि भारतीय पक्षले ओलीसँग सम्बन्ध सुधारेर जान चाहेको थियो । त्यसकै लागि माहौल बनाउन भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आएकी थिइन् । स्वराजको भ्रमण एमालेको निमन्त्रणामा भएको थियो ।

दुवै छिमेकीसँग सम्बन्ध राम्रो बनाएपछि मात्र आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने ठानेका ओलीले दोस्रोपटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भारत नै गर्न लागेका हुन् ।

को-को जाँदैछन् भारत भ्रमणमा
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी सामेल हुनेछन् ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जाने छन्।

भ्रमण टोलीमा सांसदहरु माओवादी केन्द्रका दिनानाथ शर्मा, रामेश्वर राय यादव राष्ट्रिय जनता पार्टीका शरदसिंह भण्डारी, संघीय समाजवादी फोरम पार्टीका विमल श्रीवास्तव पनि रहनेछन् ।

भ्रमण टोलीमा सहभागी हुने मन्त्रीले सम्हालेका मन्त्रालयका सचिवहरु, परराष्ट्र मन्त्रालयको रिजनल अर्गनाइजेसन डिभिजन, भारत डेस्कका अधिकारी पनि रहनेछन् । यसपटक कलाकारहरु राजेश हमाल, दिनेश डिसी पनि सहभागी हुँदैछन् । निजी क्षेत्रबाट सहभागी हुने सदस्यहरुको नाम संकलन हुने क्रम जारी छ । सरकारी खर्चलाई मितव्ययी बनाउने सन्देश दिन प्रधानमन्त्री ओलीले यसपालि सीमित र आवश्यक पात्रहरुलाई मात्र भ्रमण टोलीमा सामेल गराउने भने पनि टोली ठूलै हुने भएको छ ।

खर्च कसरी व्योहोरिन्छ ?
नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा सबैभन्दा ठूलो प्रतिनिधिमन्डल सामेल हुने परम्परा छ । ओहोदामा रहेका सरकारी अधिकारीका अतिरिक्त सांसदहरुको टोली, उद्योगी व्यापारीको टोली, सञ्चारकर्मीको टोली, प्रधानमन्त्रीकै सहयोगीको समूह र यसपटक कलाकारको समूह भ्रमण दलमा सामेल हुनेछन् । आतिथ्य दिने भारतले १५/१६ जनाको मात्रै खर्च व्योहोर्ने गर्छ । बाँकी सदस्यको खर्च नेपाल सरकार र स्वयंले व्योहोर्ने चलन छ ।

सम्बन्धित शिर्षकहरु