फुटेका राप्रपा मिलाउन पूर्वराजा ज्ञानेन्द्रको सक्रियता, अदृश्य संरक्षकत्व दिन तयार !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गर्दै आएका छन् । पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको तर्क उनीहरूको छ ।

चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो । ‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्‍यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’

तर, छलफलमा सहभागी राप्रपा राष्ट्रवादीका नेता श्रेष्ठलाई पूर्वराजाले राजनीतिमा आउने चाहना छलफलमा व्यक्त गर्नुभएको हो भनी सोध्दा उनले भने, ‘देश पार्टीले चलाउने हो, देश राम्रो होस् भन्ने चाहना मात्र उहाँको हो । राप्रपा एक भएर जाँदा उपयुक्त हुन्छ भन्नुभयो । उहाँ राजनीतिमा आउने भन्ने विषयमा कुरा भएन ।’ नयाँ पत्रिकाबाट ।

सम्बन्धित शिर्षकहरु