
कैलाली । फागुन २० गतेदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । एकाएक चौधरीको स्वास्थ्यमा समस्या देखिएर अवस्था नाजुक बनेपछि उनलाई शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको छ ।
जिल्ला कारागार कैलालीका अनुसार उनीसँगै विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको छ ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए । उनीहरुले कैलाली १ का सांसद समेत रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका छन् ।








