
काठमाडौं । उम्मेदवारी मनोनयन दर्तासँगै आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । यो निर्वाचन आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
संविधानको धारा ६१ मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने उल्लेख छ । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ । तर, दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।
संविधानले राष्ट्रपति हुनका लागि संघीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानूनले अयोग्य नठहर्याएको भनी योग्यता निर्धारण गरेको छ ।
राष्ट्रपतिले संविधान वा संघीय कानूनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने संविधानले व्यवस्था गरेको छ । संविधान धारा ६६ अनुसार राष्ट्रपतिले यो संविधान वा संघीय कानूनबमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।
अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिशमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुने संविधानमा उल्लेख छ । त्यस्तो सिफारिश र सम्मति प्रधानमन्त्रीमार्फत पेश हुनेछ ।
निर्वाचनमा ८८० मतदाता, संघीय सांसदको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम:
नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानूनबमोजिम फरक रहेको छ ।
संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संविधानबमोजिमको निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।
निर्वाचनको सिलसिलामा आयोगले मंगलबार मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको थियो । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।
उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति पदका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरिदिएको छ । यसअनुसार एक जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा रु चार-चार लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । तर, उम्मेदवारका लागि दर्ता शुल्क भने राखिएको छैन ।
किन उठायो कांग्रेसले ‘विद्या’ विरुद्ध ‘लक्ष्मी’
‘समर्थन’ भन्ने शब्द नै नराखी एमालेले ‘राष्ट्रपति भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने’ भन्ने बहुमतको दम्भपूर्ण भाषा राखेकाले वाध्य भएर काँग्रेसले पनि उम्मेदवार उठाएको हो ।
नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।








