
काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई रेलको डिम्बा छाडेर ईञ्जिन मात्र बोकेर हिडेको अारोप लगाएका छन् । पार्टी मुख्यालय पेरिसडांडामा आज आयोजित पार्टी प्रवेश समारोहमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले सो कुरा बताएका हुन् । पूर्व माओवादी नेता समेत रहेका नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा लाई माओवादी केन्द्रमा प्रवेश गराँउदै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समेत पार्टीमा फर्किन आव्हान गरे । उनले भने,-‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ रु जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस्’
माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने बताउदैं प्रचण्डले पार्टीमा पुनर्मिलन हुन बाबुरामलाई अनुरोध गरे । उनले भने-‘इतिहासको निर्माता जनता हुन्, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिए,’ प्रचण्डले सम्झिए, ‘उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो ।’
सो अवसरमा पार्टी प्रवेश गरेका नयाँशक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे ।








