काठमाडौं । संघीय संसदका सांसदको आइतबार पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि आइतबार बल्ल सांसदले शपथ लिएका हुन् । प्रतिनिधिसभाका सदस्यलाई ज्येष्ठ सदस्य ७५ वर्षे महन्थ ठाकुरले शपथ खुवाएका हुन् । यस्तै राष्ट्रियसभाका सदस्यको साँझ ५ बजे सपथ ग्रहणका लिँदैछन् । राष्ट्रियसभाका सदस्यले भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टबाट शपथ लिनेछन् ।
नागरिकतामा ८० वर्ष उल्लेख भए पनि वास्तविक उमेर ६३ वर्ष मात्र भएका कारण राजपाका नेता महेन्द्रराय यादव आइतबारको शपथ कार्यक्रममा उपस्थित नभएपछि सांसद ठाकुरलाई शपथ खुवाउने अवसर जुरेको हो ।
यसअघि यादवबाटै शपथ गराउने तयारी संघीय संसद सचिवालयले गरेको थियो । आफ्नो नागरिकताको र वास्तविक उमेरका बारेमा विवाद भएपछि नेता यादवले शपथमा उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी गराएका थिए । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान रहेको छ ।
कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गएको मंसिर १० र २१ गते र ५६ सदस्यीय राष्ट्रियसभाको माघ २४ गते भएको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गरेकी छिन्।
राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेल राईलाई तत्काल शपथ नगराउन सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूले शपथ लिन पाएननन् ।
कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी पनि सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन । कीर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवाल भने सपथ कार्यक्रममा सहभागी भएका छन् । चौधरी व्यक्ति हत्याको अभियोगमा कैलालीमा थुनामा छन् ।








