सरकारले सदाचारको कार्यान्वयन गर्छ : प्र.म. ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सदाचारको उपदेश दिने मात्र हैन आफूले पनि कार्यान्वयन गर्ने बताएका छन् । नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलद्धारा संचालित १३ औं व्याच सिनियर डिभिजन तालिमको दिक्षान्त कवाजलाई आज ललितपुरको लगनखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यका हरेक अंगलाई सदाचार व्यवहार अपनाउन सम्झाएका छन् ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि राष्ट्रिय एकताको भावना बलियो हुनुपर्ने बताएका छन् । नवप्रवेशी सैनिक जवानलाई तालिम मार्फत देशको भूगोल, सँस्कृति, समाज, हावापानी आदि धेरै बुझ्ने अवसर समेत प्राप्त भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस तालिम मार्फत नवप्रवेशी युवाहरुले देशलाई हेर्ने क्षितिज फराकिलो भएको मैले महशुस गरेको छु’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका तालिमले जीवनलाई बदल्न,आफूलाई सक्षम राख्न,अनुशासित बनाउन मात्र सहयोग गर्ने होइन देशका लागि समेत उपयोगी हुन्छन् ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले विकासका लागि गरेको योगदानको प्रशंशा गरेका छन् । ‘नेपाली सेनाले देश विकासका लागि गरेको योगदान उच्च छ । भविष्यमा थप योगदान गर्नका लागि सरकारको तर्फबाट सबै प्रकारका सहयोग हुन्छन् ’ प्रधानमन्त्री ओलीले भने ।

सम्बन्धित शिर्षकहरु