
पोखरा । विश्वमा भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १२२औँ स्थानमा देखिएको छ । सुशासनका लागि नागरिक समाज कास्कीले अाज पोखरामा अायोजना गरेको पत्रकार सम्मेलनमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार यस्तो देखिएको हो । १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२औँ स्थानमा परेको हो ।
राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत छ मापदण्डका आधारमा देशलाई शून्यदेखि १०० सम्म अंक दिइएको थियो । शून्य अंक सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याइकोमा नेपालले ३१ अंक प्राप्त गरेको हो ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेशन, वल्र्ड जस्टिम प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणअनुसार पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएका देशमा भ्रष्टाचार बढी हुने गरेको छ । तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा ८९ अंक प्राप्त गरी पहिलो नम्बरमा न्यूजिल्याण्ड र ८८ अंक प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा छन् भने सोमालिया नौ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा छ ।








