काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्वारी दिने घोषणा गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले आफू सहमतिको पक्षमा रहेको र सहमति नभए आफूले उम्मेदवारी दिने बताए।
आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको भन्दै उनले आफू नै मुख्यमन्त्री बन्ने दावी समेत गरे। ‘संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ’, उनले भने, ‘संसदीय दलको नेतामा मेरो उम्मेदवारी हुन्छ मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ।’
नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको व्यक्ति भएकोले पनि मुख्यमन्त्रीका लागि योग्य भएको बताए। उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भीर भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
फास्टट्रयाकदेखि चीन काठमाडौँ पोरखा लुम्बिनी रेल मार्ग लगायतका राष्ट्रिय आयोजनालाई आफूले प्राथमिकतामा रखेको बताए। फरक प्रसँगमा नेता पाण्डेले एमाले र माओवादी केन्द्रबीच अब छिट्टै एकता हुने बताए। पद तथा अन्य कुराहरु दुवै पार्टीका अध्यक्षहरु बसेर टुंगो लाउने उनले जानकारी दिए। ‘दुई अध्यक्षहरुको एकताको निर्णयले निर्वाचनमा सफलता मिल्यो’, उनले भने, ‘अब कुन मोडालिटीमा एकता गर्नेभन्ने उहाँहरुकै हातमा छ।’








