
दोलखा । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पुर्याएकाले जनताको हक हितका लागी अब सडकबाटै आवाज उठाउने उपप्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमल थापाले बताएका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणका लागि दोलखा पुगेका ऊर्जामन्त्री समेत रहेका थापाले मंगलबार सदरमुकाम चरिकोटमा राप्रपाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताएका हुन् ।
चुनाव नजिकिँदै गर्दा पार्टी फुट्नु, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु तथा आफ्ना उम्मेदवार कम स्थानमा उठाएका कारण चुनावमा पराजयमार्फत राप्रपा अहिले सडकमा आइपुगेको बताए । उनले पार्टी सडकमा आइपुगेपनि भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।








