
काठमाडौँ । ग्राम सुधार आधारभूत विद्यालयको सुधार, शिव पाञ्चायन मन्दिरको संरक्षणार्थ तथा अन्य सामाजिक काम गर्नका लागि सहयोगार्थ भुमिका निर्वाह गर्नका लागी काठमाडौंको गोकर्णेश्वर वडा नं ३ ब्रम्हडोलमा अाजबाट श्रीमद् भागतवत ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
धार्मिक सहिष्णुता भएको अाफ्नो देशमा महायज्ञ उद्घाटन गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको प्रधानमन्त्री देउवाले बताए । ज्योतिषले अाफुलार्इ सातपटक प्रधानमन्त्री बन्छस् भनेर भनेको भन्दै सार्वजनिक कार्यक्रममै भाषण गरेका उनले अाज भने आफूलाई धार्मिक विषयबारे त्यति ज्ञान नभएको बताएका छन् । प्रधानमन्त्री देउवाको कुरा सुनेर केहिबेर त्यहाँ उपस्थितहरु भक्तजनहरु पनि छक्क परेका थिए । कतिपयको कौतुहलता थियो, ‘साँच्चै प्रधानमन्त्रीज्यूलाई धर्मबारे जानकारी नभएकै हो त ?’
ग्राम सुधार विद्यालयको भौतिक संरचना जीर्ण बनेको र त्यहाँ अध्ययन गर्नेहरुलाई खानपान लगायतबारे व्यवस्थापनमा सहज होस् भनेर यज्ञ गरिएको हो र महायज्ञ ९ दिनसम्म चल्ने बताइएको छ ।








