
काठमाडाैँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग मिलेर अघि बढ्न सुझाव दिएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटलगत्तै सोल्टी होटलमा राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटमा विदेशमन्त्री स्वराजले यस्तो सुझाव दिएकी हुन्।
राजपा नेताहरुसँगको भेटमा स्वराजले राजपा र संघीय समाजवादी फोरमले प्रदेश–२ मा विजय हासिल गरेकोमा खुसी व्यक्त गर्दै मिलेर जाँदा चुनावमा राम्रो परिणाम अाएका कारण अाउने दिनहरूमा पनि यसरी नै मिलेर बस्न अाग्रह गरेकी छिन् ।
एमाले अध्यक्ष ओलीसँगको भेट निकै सकरात्मक र राम्रो भएको कुराकानी भएको जानकारी गराउँदै आफू सद्भाव बृद्धिका लागि नेपाल आएको बताउँदै उनले बताइन् । नेपालको आन्तरिक मामिला नेपालका राजनीतिक दलहरुले नै सल्ट्याउनु पर्ने धारणा पनि उनले बैठकमा व्यक्त गरेकी छिन्।








