काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार कामचलाउ भैसकेको छ । कामचलाउ सरकार भैरहेको बेला जनतामाझ लोकप्रिय बन्न देशलाई नै आर्थिकभार पर्ने निर्णयहरु गर्दै आईरहेको छ । सरकारले ६५ वर्ष पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेसँगै राज्यको ढुकुटीमा अर्बौ रूपैयाँ भार पर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गर्दै ६५ वर्ष पुगेका नेपाली नागरिकलाई वृद्धा भत्ता दिने व्यवस्था गरेको हो सरकारको पछिल्लो निर्णयलाई नयाँ सरकार गठनको तयारीमा लागेको नेकपा एमालेले आपत्ति जनाइसकेको छ । सामाजिक सुरक्षा भत्ताको उमेरहद घटाउने सरकारी निर्णयको अर्थविद्हरुले विरोध जनाएका छन् ।
यस्ता दूरगामी महत्त्वका निर्णय संसदबाट पारित गरेर मात्र लागू गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा एमालेले विरोध जनाइसकेका कारण यो निर्णय कार्यान्वयन हुने सम्भावना कम छ । देउवा सरकारको यो ‘अलोकप्रिय’ निर्णय कार्यान्वयन भएमा त्यसको लाभ स्वयम् प्रधानमन्त्री र उपप्रधामनन्त्रीले पनि लिनेछन् । नेपाली कांग्रेसका दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यो लाभ लिन पाउने छन् ।
विक्रम संवत् २००३ सालमा जन्मेका कांग्रेस सभापति देउवा अहिले ७१ वर्षका भए । मन्त्रिपरिषद्को बुधबारको निर्णयअगावै उनी वृद्धभत्ताका लागि योग्य भइसकेका थिए । सांसदको सुविधा पाउने भएकोले देउवाले दोहोरो सुविधा लिन भने पाउने छैनन् । उसो त काठमाडौंमा सुविधा सम्पन्न बंगलामा बस्ने देउवा वृद्धभत्ता थाप्न जाने कुरा पनि भएन ।
देउवा सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी ओलीले बिहीबार पत्रकार सम्मेलनमै व्यङ्ग गरे, ‘शेरबहादुरजी सांसद हुँदै हुनुहुन्छ, किन हतार भएको उहाँलाई रु फेरि उहाँ ७१ वर्षको भइसक्नु भयो क्यारे ।’
देउवाका अतिरिक्त कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वृद्धभत्ता पाउने छन् । २००१ सालमा जन्मेका पौडेल ७३ वर्षका भए । पटक(पटक उपप्रधानमन्त्री र सभामुख भइसकेका पौडेल पनि ‘कम्युनिष्ट’हरुले लागू गरेको वृद्धभत्ता थाप्न जाँदैनन् होला । ८२ वर्षका कुलबहादुर गुरुङ यसअघि नै योग्य भइसकेका छन् ।
सरकारको पछिल्लो निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा भत्ताको विरोध गर्ने कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा। रामशरण महत पनि वृद्ध भत्ताका लागि योग्य हुनेछन् ।
६७ वर्षका महत पनि आफैँले विरोध गर्दै आएको वृद्धभत्ता लिन जाँदैनन् होला । कांग्रेस सरकारले तोकेको मापदण्डअनुसार डा। शेखर कोइराला ६७ र ७० वर्षका प्रदीप गिरी पनि पेन्सन पाउन योग्य हुनेछन् । २००४ सालमा जन्मेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, ६७ वर्ष पुगेका आनन्द ढुंगाना ६८ वर्षका चीनकाजी श्रेष्ठ ७० वर्षका ध्यानगोविन्द रञ्जितले पनि वृद्धभत्ता पाउने छन् ।
६८ वर्ष पुगेका कृष्ण सिटौला र अर्जुननरसिंह केसी पनि ६५ वर्षे वृद्ध भत्ताका लागि योग्य भएका छन् । नेकपा एमाले नेतृत्वको सरकारले २०५१ सालमा ७५ वर्ष पुगेका वृद्धवृद्धालाई १ सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २०७३ सालको बजेटमार्फत वृद्धभत्ता बढाएर २ हजार पुर्याएको थियो ।
सरकारको निर्णय कार्यान्वयन भएमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले अर्को वर्षदेखि, सुजाता कोइराला, बलबहादुर केसी लगायतका नेताले दुई वर्षपछि वृद्धभत्ता पाउने छन् । संसद सचिवालयमा उनीहरुले पेश गरेको विवरण अनुसार गच्छदार ६४ र सुजाता ६३ वर्षका भए । बलबहादुर केसीले अर्को वर्षदेखि पेन्सन पाउने छन् । कांग्रेसमा आफूहरुलाई ‘युवा’ दाबी गर्ने अधिकाशं नेताहरु ५० वर्ष भन्दा माथि लागेका छन् ।








