
काठमाडौँ । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई भत्तास्वरुप मासिक पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गत पुस १३ गरेको थियो । सोहि अनुरूप वीर अस्पतालले आज उक्त जीविकोपार्जन भत्ता वितरण गरेर भत्ता रकम वितरण गर्ने पहिलो अस्पताल बनेको छ । केहिले उक्त सहयोगले पनि ठूलो राहत पुग्ने बताएका छन् भने केहिले यति थाेरै रकमलार्इ जीविकोपार्जन भत्ता भन्न अनुचित रहेपनि सरकारको यो कदम सकारात्मक रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आयोजित रकम वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला रोगका बिरामीका लागि सानो रकम भए पनि सरकारले सहयोग गर्न खोजेको धारणा व्यक्त गरेका छन् ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) नियमावली, २०६८ बमोजिम स्थापना भएको स्वास्थ्य कर कोषमा सुर्तीजन्य पदार्थको अन्तःशूल्क करबाट प्राप्त हुने कोषबाट बाँडिने भत्ताको आर्थिक स्रोतको व्यवस्थापन गरिएको छ । उक्त भत्ता प्राप्त गर्नका लागि विशेषज्ञसहितको चिकित्सकको सिफारिशमा बिरामीको छनोट हुने बताइएको छ ।
यसअघि नै मुटु, मिर्गौला, अर्बुद्ध, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगको उपचारका लागि एक लाख सहयोग पाएका बिरामीले पनि जीविकोपार्जन भत्ता पाउने भएका छन् । बिरामीले भुक्तानी लिने प्रक्रिया सजिलो छ, अस्पतालबाटै पाउँछन्, अहिलेको कार्यविधिले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको समितिले विपन्न सिफारिश पत्र, रोग पत्ता लागेको कागज, नागरिताको फोटोकपी र बच्चामा जन्मदर्ताको फोटोकपी लिई अस्पतालको सामाजिक सुरक्षा एकाइमा सम्पर्क राख्नुपर्दछ ।
भत्ता रकमको चेक लिनका लागि बिरामी स्वयं उपस्थित हुनुपर्ने, स्वयं उपस्थित हुन नसक्ने अवस्था रहेमा अस्पताल प्रमुखको स्वीकृतिमा बिरामीको अभिभावकलाई प्रदान गरिने, भत्ता पाउने बिरामीको मृत्यु भएमा आफन्तले सोको जानकारी गराउनुपर्ने नगराइ भत्ता लिएमा नियमानुसार उपर गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य सात रोगको उपचारका लागि बिरामीले एक लाख सहयोग पाए पनि मिर्गौलाका बिरामीले भने प्रत्यारोपणका लागि पाँच लाख ५० हजारसम्म र निःशुल्क डायलासिस सेवा पाउँछन् ।
महाशाखाको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाले मिर्गौला बिरामीलाई डायलासिस निःशुल्क, मिर्गौला प्रत्यारोपणका लागि चार लाख र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख उपलब्ध गराउँदै आएको छ । देशभर सूचीकृत भएका ७५ अस्पतालबाट जीविकोपार्जन भत्ता रकम प्राप्त गर्न सकिने छ ।








