वाम गठबन्धनले राष्ट्रियसभामा जित्ने क्षेत्रमा मात्रै उम्मेदवारी दिने

काठमाडाैं। वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफूले जित्ने स्थानमा मात्रै उम्मेदवारी दिने भएका छन्। राष्ट्रियसभा निर्वाचनमा सिट बाडँफाँट गर्न गठित कार्यदलको रिपोर्टलाई आइतबारको बैठकले अनुमोदन गर्दै त्यस्तो निष्कर्ष निकालेको हो। कार्यदलले माघ ३ गते प्रदेशपिच्छे दुई पार्टीको मतभारको तथ्यांक विश्लेषण गरी ४३ सिट जित्न सकिने निष्कर्ष निकाल्दै सिट बाँडफाँट गरेको थियो।

एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सिट दिने गरी कार्यदलमा सहमति भएको थियो भने बाँकी १३ सिटमा अन्य दलसँगको छलफलका आधारमा तालमेलको टुंगो लगाउने सहमतिसहितको रिपोर्ट शीर्ष नेतालाई बुझाएको थियो। तर, आइतबारको बैठकले कार्यदलको रिपोर्टलाई अनुमोदन गर्दै गठबन्धन उम्मेदवारले नजित्ने ठाउँमा उम्मेदवारी नदिने निष्कर्ष निकालिएको एमाले नेता पाण्डेले बताए।

‘हामीले चुनाव जित्ने ठाउँमा दुई पार्टीबीच सिट भागबन्डा लगाएकै छौं, नजित्ने ठाउँमा उम्मेदवार नै किन दिने ? ‘ पाण्डेले अन्नपूर्णसँग भने, ‘गठबन्धन नै गरे पनि बाँकी १३ सिटमा चुनाव जितिँदैन, त्यसो भएपछि त्यसको बारेमा किन छलफल गर्ने भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख, उपसभामुखदेखि मन्त्रीहरूसम्मको भागबन्डा पनि आपसी समझदारीका आधारमा गर्न बैठकले सोही कार्यदललाई गृहकार्यको जिम्मा बैठकले दिएको छ। वाम गठबन्धनसँग प्रदेश २ बाहेक अन्य प्रदेशमा सरकार बनाउने जनमत छ। त्यसो हुँदा एमालेलाई ४ र माओवादी केन्द्रलाई २ वटा प्रदेशको मुख्य मन्त्री दिने गरी कार्यदलमा छलफल भइसकेको छ।

तर, माओवादीले प्रदेश सभामुखका विषयमा एमालेका तर्फबाट प्रदेश प्रमुख पाएका स्थानमा आफ्ना तर्फबाट सभामुख र आफ्नो प्रदेश प्रमुख भएका स्थानमा एमालेलाई सभामुख हुने गरी बाँडफाँटको प्रस्ताव अगाडि सारेको छ। तर, एमालेले माओवादीलाई २ वटा मुख्यमन्त्री र २ वटा प्रदेश सभामुख दिने प्रस्ताव गरेको थियो। अाजको अन्नपुर्णपोस्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु