
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले अागामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ । पार्टीले राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।
राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानूनी बाध्यता रहेका कारण यसअघि प्रधानमन्त्री देउवाले विभिन्न राजनीतिक दलसँग यसबारेमा छलफल गरी सहमतिका लागि प्रयत्न गरीसकेका छन् । काँग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारी पनि गरीरहेको बताइएको छ । गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको अपेक्षा अनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठको माग भइरहेको बताइएको छ ।








