काठमाडौं । डा गोविन्द केसीको समर्थन तथा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग गर्दै माइतीघर मण्डलामा भएको प्रर्दशन एमाले अध्यक्ष केपी शर्मा ओलीतिर सोझिएको छ।डा. केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश पराजुलीको राजीनामासँगै अध्यक्ष ओलीको आलोचना समेत गरे ।
अधिवक्ता ओम प्रकाश अर्यालले अबको नैतिक लडाई एमाले अध्यक्ष ओली विरुद्ध हुने भन्दै ,’अध्यक्ष ओलीको २०२८ सालमा भएको झापा काण्डदेखिको ट्रयाक रेकर्ड आफूसँग भएको बताए ।’डा. केसीबारे एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्दै उनले भने, ‘केपी ओली माफियाको मतियार मात्र हैन, हत्यारा पनि हुन्। गोविन्द केसी विरुद्ध अभिव्यक्ति दिएर उनले तीन करोड नेपालीको मन दुखाएका छन्।’
उनले अघि भने, ‘डा. केसीको सत्याग्रहले ल्याएका उपलब्धीलाई खिसिटिउरी गर्ने ? जोक बनाएर उडाउने ?यस्ता काम गरेर अध्यक्ष ओलीले नेपालीको मन दुखाउने काम गरेका छन् ।’अर्यालले नेपालमा कुनै पनि पार्टी राष्ट्रवादी नभएको बताउँदै भने,’यो देशमा कोही राष्ट्रवादी छ भने डा केसी र उनका आन्दोलनमा जोडिएका साथीहरु छन्।’
त्यस्तै डाक्टर केसीका सहयोगी डा. अभिषेक राज सिंहले,’केपी ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिए। उपचार गर्न विदेश जाँदैगर्दा तीन करोड नेपालीको भविष्यका लागि लडिरहेका डा.केसीलाई जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले तपाईको स्तर निर्धारण गर्छ। कमरेड ओली तपाईले अति गर्नुभयो। अब तपाईका दिनगन्ती सुरु भयो।’
एमाले अध्यक्ष ओली उपचारका लागि बुधबार बैंकक जाने क्रममा डा. केसीप्रति ब्यंग्य गर्दै निर्वाचन आयोगलाई कानुनी विषयमा कुनै अप्ठ्यारो भए डा. केसीलाई सोध्नु भनेका थिए । माइतीघरमा भएको प्रर्दशनमा प्रदर्शनकारीले,’चारैतिर प्रष्ट छ गोपाल पराजुली भ्रष्ट छ’,’ दुइटा नागरिकता कस्को, एसएलसी फेल पराजुलीको’,’म पनि गोविन्द केसी, मलाई पनि पक्राउ गर’जस्ता नारा लगाएका थिए।








