
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको १५ दिनमा नेकपा(एमाले) र माओवादी केन्द्रबीच एकता हुने बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपस्थित पत्रकारले नेताको व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर राखेको प्रश्नमा ओलीले भने, ‘हामी अहिले जनताको व्यवस्थापन गर्नतिर लागेका छौं, नेताको व्यवस्थापनको चिन्ता नगर्नुहोस्, यति बुझ्नुहोस् पार्टी एकता हुन्छ, १५ दिनभित्रै एकता हुन्छ ।’ केहीले एमाले र माओवादीको पार्टी एकता भाँड्ने प्रयास गरेको भन्दै ओलीले त्यो सफल नहुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’
अहिलेको सरकार सत्ता लम्ब्याउन लागिपरेको आरोप लगाउँदै उनले भने, ‘तपाईहरुलाई सम्झना होला, यो देशमा चुनाव भएको थियो,’ ओलीले भने, ‘अहिलेको सरकार चुनावै नभएजस्तो गरी सत्तामा बसिरहेको छ। पहिला राष्ट्रिय सभा अध्यादेश भनेर अड्काइयो, अहिले प्रदेशको राजधानी भनेर सत्ता तन्काउन खोजिएको छ।’
तत्काल सरकार हस्तान्तरण गर्नु पर्नेमा जोड दिँदै निर्वाचन आयोगप्रति व्यङग्य गर्दै उनले भने, ‘सुनिदैँछ निर्वाचन आयोग पनि ‘ब्ल्याकमेलिङ’को सिकार हुँदैछ, त्यो उहाँहरुले जान्ने कुरा हो ।’








