
काठमाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आजदेखि आफ्नो १४ औँ अनशन शुरु गरेका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी अनशन बसेको स्थानबाट पक्राउ परेका छन् । उनलाई अनशन स्थलबाटै सोमबार राति ८ बजे प्रहरीले पक्राउ गरेको हो । आजै सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।
महानगरीय प्रहरी परिसर टेकूबाट आएको प्रहरी टोलीले उनलाई पक्राउ गरिरहँदा केसीले प्रधानन्यायाधीशलाई कानुनको खरिदबिक्री गरेको आरोप लगाइरहेका थिए । अस्पतालमा पत्रकार सम्मेलन गरी प्रा. डा. केसीले सर्वोच्च अदालतले आइतबार आइओएमको चार वर्षअघिका डीन प्रा. डा. शशि शर्माको पुनःबहाली गर्न गरेको फैसला न्यायसंगत नभएको जनाउँदै प्रधानन्यायाधीशको राजीनामाको माग गरी अनिश्चितकालीन आमरण अनशनमा बसेका थिए ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेका हुन् । आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू’ भनिएको छ ।
आइओएमका डीनबाट बर्खास्तमा परेका प्रा. डा. शर्मालाई त्रिवि कार्यकारी परिषद्को २०७० पुस २५ गते बसेको बैठकले सोही साल पुस २८ गतेदेखि लागु हुने गरी चार वर्षका लागि अर्थात् यही पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।








