भरतपुर। नारायणगढ-मुग्लिङ सडक निर्माण गर्न रातिमा सडक बन्द गरिएको छ । मंगलबारबाट राति ६ घण्टा बाटो बन्द गरेर काम थालिएको हो । बाटो बनाउन राति १० देखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको आयोजनाले जानकारी दिएको छ ।
रातिमा बाटो बन्द गरेर सडक विस्तारका लागि चट्टान कटान गर्न सुरु गरिएको छ । दिउँसोमा यातायातको चाप बढी हुने भएपछि रातिमा बाटो बन्द गरेर चट्टान कटान थालिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । ‘बाटो बन्द नगरी चट्टान कटान गर्न नमिल्ने भयो’, खनालले भने, ‘रातिमा हेर्छौं, यसबाट राम्रो भए निरन्तर हुन्छ, नभए अर्को उपाय लगाउँछौँ ।’ चैत मसान्तसम्म पहिलो चरणको कालोपत्रे सक्ने र चालू आर्थिक वर्षमा सबै काम सक्ने गरी काम अघि बढेको उनले बताए ।
१६ किलो, घुमाउने र चेपाङ डाँडा गरी तीन स्थानमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ । पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बाटो निर्माणको विषयमा बैठक बसेको थियो । उक्त बैठबले राति ६ घण्टा सडक बन्द गरी निर्माणको काम सुरु गरिएको छ । करिब ३३ किलोमिटर दूरीमध्ये अहिलेसम्म ६९ प्रतिशत मात्रै सम्पन्न भएको छ । गत साउन १७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले समेत उक्त सडकको अनुगमन गरेका थिए । त्यसयता करिब १६ प्रतिशत मात्रै काम भएको छ । चाडपर्व र निर्वाचनका कारण कामको प्रगति हुन नसकेको आयोजनाले जानकारी दिएको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।









