५ वर्ष सरकार चलाउ भनेर प्रचण्डजीलाई माया गरेको हो त ?-ओली

काठमाडौं  । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता भाँड्न र विथोल्न धेरै प्रयास भएको बताएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘राष्ट्रनिर्माणको महाअभियान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्ताव वाम गठबन्धन तोड्ने प्रयास भएको बताएका हुन् । प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव माया गरेको नभइ गठबन्धन विथोल्ने प्रयास भएको उनले बताए ।

एकता भाँड्न र विथोल्न धेरै प्रयास भए, प्रचण्ड जीलाई त हामी सहयोग गर्छौं पाँच वर्ष सरकार चलाउनुहोस् भन्ने प्रस्ताव समेत आएछ ।′ मञ्चमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेर्दै ओलीले थप्नुभयो, ‛उहाँलाई माया गरेर ५ वर्ष सरकार चलाउ भनेको हो त, देश विकास गर्न भनेर यस्तो प्रस्ताव आएको हो त ? हैन, यो त विथोल्न खोजेको हो ।′

केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावलाई प्रचण्डले पनि अस्वीकार गर्दै आउनुभएको छ । पुस्तक विमोचन कार्यक्रममा ओली भन्दा अगाडि बोलेका प्रचण्डले पनि एमाले र माओवादीबीच एकता हुन नदिन धेरै चलखेल भएको भन्दै यसलाई असफल पारेर आफूहरु अघि बढ्ने बताउनुभयो । दुई पार्टी एक हुने र अब बन्ने वामपन्थी सरकारले देशमा आर्थिक सम्बृद्धि ल्याउने दुवै नेताको दावी छ ।

‛पार्टी एकतालाई विथोल्ने प्रयास अब सम्भव छैन, नागरिकले विश्वासका साथ सुम्पेको जिम्मेवारी पूरा गरेरै छाड्छौं′ ओलीले भन्नुभयो, ‛नयाँ सरकार गठनसँगै देश आर्थिक सम्वृद्धि र विकासको बाटोमा अघि बढ्छ, बढ्छ । कसैले रोक्न सक्दैन ।′

सम्बन्धित शिर्षकहरु