कांग्रेसमा बढ्यो अन्तर्कलह: कुटा-कुटदेखि,गुट–उपगुटको कोठे बैठक

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित परिणाम हासिल गरेपछि नेपाली कांग्रेसभित्र अन्तर्कलह सुरु भएको छ । निर्वाचनको अगाडिसम्म एकढिक्का झैं देखिएको कांग्रेसमा अहिले गुट–उपगुटको कोठे बैठक, कुटाकुट, आरोप–प्रत्यारोप चल्न थालेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएपछि अहिले कांग्रेस नेताहरू हारको दोष एक–आपसलाई लगाउन थालेका छन् । अन्तर्घातकै कारण आफू पराजित भएको गुनासो गर्नेमा जुनियर केन्द्रीय सदस्यदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म छन् ।

सोमबार स्याङ्जामा कांग्रेसको समीक्षा बैठकमा हात हालाहाल मात्र भएन, तीनजना कार्यकर्ता कुटाईबाट गम्भीर घाइते भए । उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार राति नै नेता पौडेल समूहले आफ्ना १८–१९ जना जिल्ला सभापतिको गोप्य भेला राजधानीको ठमेलस्थित एउटा होटलमा आयोजना गरेको थियो ।

सो भेलाबारे कसैलाई जानकारी गराइएको थिएन । खानासहितको अत्यन्तै गोप्य भनिएको सो भेलाले पार्टी नेतृत्वकै कमजोरीका कारण निर्वाचनमा कांग्रेस पराजित भएको निष्कर्ष निकालेको थियो । निर्वाचनको परिणाम आएलगत्तै कांग्रेस केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, गगन थापा, डा.शेखर कोइराला, चन्द्र भण्डारीलगायतले सभापति शेरबहादुर देउवाको राजीनामा मागिसकेका छन् ।

कोइरालाले त अविलम्ब केन्द्रीय सदस्य बैठक नबोलाए हस्ताक्षर अभियानसमेत सुरु गर्ने चेतावनी दिइसकेका छन् । कांग्रेसको एउटा पक्षले सभापति देउवाको राजीनामा मागिरहेका बेला विश्वप्रकाश शर्मा, बालकृष्ण खाँण, डा.शशांक कोइरालालगायत सभापतिको बचाउमा लागेका छन् ।

उनीहरूले हारको जिम्मेवारी नेतृत्वले मात्र नभई केन्द्रीय समितिमा रहेका सबैले लिनुपर्ने भन्दै संगठनलाई पुनर्जीवन दिन उल्लेख्य सुधार गर्नुपर्ने धारणा राखेका मिडियाएनपीमा समाचार छ ।  तर, निर्वाचनको पराजयपछि पौडेल पक्षले भ्रातृसंगठनमा बखेडा निकाल्न थालिसकेको छ । नेता पौडेलले नेविसंघ, तरुण दल, महिला संघ, प्रेस युनियनलगायतमा समानान्तर समिति चलाउन गोप्य सर्कुलर जारी गरेको बताइएको छ । जसअनुसार अहिले ती संगठनका नियमितजसो भेला र बैठक बस्न थालेका छन् । यसले अबको लामो समयसम्म कांग्रेस आन्तरिक किचलोमै फस्ने संकेत देखिन थालेको छ ।

सम्बन्धित शिर्षकहरु