मधेस केन्द्रित दुई दल फेरि निर्णायक शक्ति बन्ने संकेत,मधेसको राजनीति सत्ता कि सडक केन्द्रित ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राष्ट्रिय दलको मान्यता पाएका मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम सत्ता गठबन्धनका लागि फेरि पनि निर्णायक शक्ति बन्ने संकेत देखिएको छ ।

विगतमा सत्ता केन्द्रित राजनीति गरेको आरोप लाग्ने गरेका मधेश केन्द्रित राजनीति गरेका फोरम र राजपा फेरि पनि नयाँ संसदमा पनि सत्ता राजनीतिको जोड घटाउका लागि निर्णायक पात्र बन्ने सम्भावना छ । नेकपा एमालेको नेतृत्वमा बनेको वामपन्थी गठबन्धनले फोरमलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ ।

नयाँ संविधान जारी भएपछि मधेश केन्द्रित मुख्य घटक फोरम र राजपा सत्तामा गएका छैनन् । स्थानीय तहको चुनाव अगाडिसम्म ‘संविधान पुनर्लेखन’को नारा चर्काएका मधेस केन्द्रित दलहरुले अहिले ‘संविधान संशोधन’लाई राजनीतिक एजेण्डा बनाएका छन् ।

प्रत्यक्षतर्फ १० सीट जितेको र समानुपातिक तर्फबाट थप ६ सीट पाउने सम्भावना रहेको फोरमको अंकगणित महत्वपूर्ण छ । नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अबस्थामा पनि संसदमा सामान्य बहुमत पुर्याउन एमालेलाई फोरम, राष्ट्रिय जनमोर्चा लगायत साना दलको समर्थन भए पुग्ने भएकोले फोरमको संख्यालाई महत्वपूर्ण ठानिएको लोकान्तरले समाचार लेखेको छ । । फोरमलाई सरकारमा सहभागी गराउन नेकपा एमालेले प्रयत्न गरिरहेको छ । फोरमलाई लिएर बहुमतको सरकार बनाउँदा आलोपालो सरकार गठनको लफडा नउठने एकथरीको विश्लेषण छ । एमाले फोरमसँग लहसिएको माओवादी बृत्तमा चर्चा छ ।

केही दिन पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवलपरासीमा पार्टी कार्यकर्तासँगको भेटमा एमालेले फोरमसँग मिलेर सरकार बनाउन लागेको आशयको अभिव्यक्ति दिएका थिए । यद्यपि आइतवार चितवनको बाँदरझुलामा आयोजित कार्यक्रममा प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने र पार्टी एकता हुने स्पष्टिकरण दिइसकेका छन् ।

प्रतिनिधिसभा चुनावमा राजपाले ११ र संघीय समाजवादी फोरमले १० सीट जितेका थिए । तीन प्रतिसतको थ्रेसहोल्ड कटाएका मधेस केन्द्रित दुई दलले समानुपातिक तर्फबाट कम्तिमा पनि ६÷६ सीट पाउँदैछन् ।

प्रदेश नम्बर २ मा भने प्रदेश सरकार गठनका लागि मधेस केन्द्रित दुई दल नै निर्णायक बन्ने छन् । तालमेल गरेर चुनावमा गएका राजपा र फोरमले प्रदेश सभामा मिलिजुली सरकार बनाउने तयारी शुरु गरेका छन् । प्रदेश सभामा प्रत्यक्षतर्फ फोरमले १७ र राजपाले १३ सीट जितेका छन् ।

पर्सावाट चुनाव जितेका राजपा नेता लक्ष्मललाल कर्ण तत्कालका लागि सत्ता आफूहरुको रुची नभएको बताउंँछन् । ‘चुनावमा पाएको मतबाट हामीहरु उत्साहित नै छौ, मधेसी जनताको अधिकार प्राप्तिका लागि लडिरहन्छौ,’ कर्णले लोकान्तरसँग भने, ‘संविधान संशोधन र मधेसको विकासका लागि संघर्ष जारी राख्छौ ।’

एमाले र माओवादी मिलेर सरकार बनेपछि उनीहरुले फोरमलाई समेत समेट्ने गृहकार्य गरिरहेका छन् । राजपा भने एमाले बाहेकको गठबन्धन बने त्यसलाई सघाउने पक्षमा रहेको बुझिन्छ ।

संघीय फोरमका नेता लालवावु राउत २ नम्बर प्रदेशमा राजपासँग मिलेर सरकार बनाउने सम्भावना रहे पनि केन्द्रको सरकारको बिषयमा कुनै सहमति भइनसकेको बताउँछन् । ‘प्रदेशमा एलाएन्स बाट अगाडी बढ्छ, केन्द्रमा त्यस्तो परिस्थिती निर्माण हुन सकेको छैन् । पार्टीमा बहस छलफल भएको छैन्,’ उनले लोकान्तरसँग भने ।

अनौपचारिक प्रस्ताव विभिन्न दलबाट आए पनि संविधान संशोधनमा ती दलले गर्ने निर्णयका आधारमा सरकारलाई समर्थन गर्ने या सहभागिता जनाउनेबारे सोच्न सकिने राउत बताउँछन् ।

सम्बन्धित शिर्षकहरु