
एजेन्सी । सन् १९८० को दशकमा निकै हिट बनेको बलिउडको एउटा गीत भारतमा यतिबेला खासै सुनिदैन । तर उक्त गीतले अहिलेसम्म पनि रुसमा तहल्का मच्चाइरहेको छ । सन् १९८२ मा भारतमा ‘डिस्को डान्सर’ फिल्म रिलिज भएको थियो । यो फिल्मबाट बलिउड स्टार मिथुन चक्रवर्तीले फिल्म दुनियाँमा नाच्ने नयाँ शैली भित्र्याएका थिए । फिल्ममा उनले नाचेको ब्रेक डान्सले तहल्का नै मच्चाएको थियो । यसअघिका बलिउड नाचमा नायक–नायिका चौर वा पार्कमा हल्कासँग नाचेको देखेका दर्शकलाई मिथुनको ब्रेक डान्सले लठ्याएको थियो ।
‘आई एम अ डिस्को डान्सर’ वा ‘जिमी, जिमी’ गीत भारतमा मात्रै होइन, रुसमा पनि निकै चर्चित बनेको थियो । भारतपछि बलिउड फिल्म हेर्ने दर्शक रुसमा बढी थिए । रिलिज भएपछि ‘डिस्को डान्सर’ पनि रुसमा प्रदर्शन गरिएको थियो । र यी दुई गीतले सारा रुसी नागरिकको मन जित्न सफल भयो ।
अनौठो कुरा के छ भने रुसमा यी गीत अझै पनि बज्छन् । ३५ वर्ष पहिला सुनेको÷हेरेको गीतले विगतमा पुर्याइदिन्छ । रुसी टिभी शो वा स्टेजमा यी दुबै गीत हिट बनेका छन् ।








