
एजेन्सी । अक्षय कुमारको पछिल्लो फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ ले यो वर्ष निकै चर्चा पायो । मनोरंजनसँगै सन्देश पनि दिएर यो फिल्मले दर्शकको मन जित्न सफल भएको थियो ।
‘ट्वाइलेटः एक प्रेमकथा’ ले भारतीय दर्शकको मात्रै होइन, संसारभरका दर्शकको मन जित्न सफल भएको छ । यसै क्रममा हालै माइक्रोसफ्टका मालिक बिल गेट्सले पनि फिल्मको खुलेर प्रशंसा गरेका छन् ।
बिल गेट्सले सन् २०१७ सालको विश्लेषण गर्ने क्रममा ‘ट्वाइलेटः एक प्रेमकथा’ को तारिफ गरेका छन् । ट्विटमार्फत् उनले यो फिल्मको प्रशंसा गरेका हुन् । ‘सबैलाई थाहा छ, २०१७ साल निकै कठिन वर्ष हो छ तर आशा र प्रगतिका अनौठा क्षणहरू पनि यो वर्ष देख्न पाइयो । ‘ट्वाइलेटः एक प्रेमकथा’ नवविवाहित जोडीबारेको बलिउड रोमान्स फिल्म हो जसले स्वच्छताबारे दर्शकलाई सचेत बनाएको छ’, उनको ट्विटमा लेखिएको छ ।
यतिबेला अक्षय कुमार अर्को सन्देशमूलक फिल्म ‘प्याडम्यान’को तयारीमा व्यस्त छन् । यो फिल्ममा स्यानिटरी प्याडबारे सचेतना फैलाउने काम गरिरहेका छन् ।








