काठमाडौं । चुनावमा वाम गठवन्धनले बहुमत हासिल गरेर प्रधानमन्त्री हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली चार जना रणनीतिकार लिएर चिनियाँ नाका पुग्नु भारत तर्साउने रणनीतिको रुपमा लिईन थालिएको छ । काठमाडौंबाट हेलिकप्टर चढेर रसुवागढी पुगेका ओलीले केही समय रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गर्दै सोही क्षेत्रबाट रेलमार्ग निर्माणको काम थालनी गर्ने बताएपनि धेरैको अनुमान भने भारत तर्साउने रणनीति रहेको छ ।
केरुङ हुँदै नेपाल आउने चिनिया रेल भारतीय रणनीतिकारहरुको टाउको दुखाइको विषय बनेको छ। सत्ता नछाड्न देउवालाई भारतले पुठ दिइरहेको हुनसक्ने विश्लेषण गरेका ओलीलाई लागेको हुनसक्छ कि,रसुवा भ्रमण गरेर आफू चीनसँग झन् नजिकिन खोजेको देखाइदिने हो भने भारत आफैले देउवालाई पछि हट्न निर्देशन दिन सक्छ।
वी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म पुग्ने सडक दुई लेन बनाउने कार्यलाई तीब्रता दिने जानकारी पनि दिए। ओलीको रसुवा भ्रमणको दुई दिन अगाडिदेखि सो सडक आयोजनाले निर्माण कार्यलाई तीब्रता दिँदै दैनिक ८ घन्टा यातायात अवरुद्ध गरेर काम गरिरहेको छ।
अध्यक्ष ओलीसँगै पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, गोकर्ण विष्टस, रसुवाका पूर्व एमाले सांसद जनार्दन ढकाल एवं जिल्ला अध्यक्ष कर्नेल लामा ओलीको भ्रमणमा सहभागी छन्।
संघीय नेपालको पहिलो निर्वाचनमा बहुमत ल्याएरको पार्टीका अध्यक्ष ओली राजनीतिक खिचातानी चलिरहँदा चिनियाँ नाका पुग्नुलाई केहीले अर्थपूर्ण रुपमा हेरेका छन् ।








