काठमाडौं । चुनावमा वाम गठवन्धनले बहुमत हासिल गरेर प्रधानमन्त्री हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली चार जना रणनीतिकार लिएर चिनियाँ नाका पुगेका छन् ।
काठमाडौंबाट हेलिकप्टर चढेर रसुवागढी पुगेका ओलीले केही समय रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गर्दै सोही क्षेत्रबाट रेलमार्ग निर्माणको काम थालनी गर्ने बताएका छन्।
नेपाल–चीन सीमा नाकाको अवलोकनपछि टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म पुग्ने सडक दुई लेन बनाउने कार्यलाई तीब्रता दिने जानकारी पनि दिए।
ओलीको रसुवा भ्रमणको दुई दिन अगाडिदेखि सो सडक आयोजनाले निर्माण कार्यलाई तीब्रता दिँदै दैनिक ८ घन्टा यातायात अवरुद्ध गरेर काम गरिरहेको छ।
ओलीसँगै एमालेका प्रमुख नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायत पनि रसुवागढी पुगेका थिए । संघीय नेपालको पहिलो निर्वाचनमा बहुमत ल्याएरको पार्टीका अध्यक्ष ओली राजनीतिक खिचातानी चलिरहँदा चिनियाँ नाका पुग्नुलाई केहीले अर्थपूर्ण रुपमा हेरेका छन् ।








