
पाल्पा । मंसिर २९ गते कालिगण्डकी करिडोरको पहिरोमा परी स्काभेटर सहित बेपत्ता भएका सहचालक मृत अवस्थामा भेटिएका छन् । बगनाशकाली–६, खहरेमा स्काभेटरसहित पुरिएका थलारा गाउँपालिका–३, पालाकाट्ने, बझाङ्गका २१ वर्षीय सुनिलकुमार सिंह मृत भेटिएका हुन् ।
रोकिराखेको बा १ क ८१९४ नम्बरको स्काभेटरमा पहिरो खसेको थियो । आईतबार दिउँसो १ बजे करिडोरबाट झण्डै दुई सय मिटर तल स्काभेटरभित्र सिंहको मृत शरीर भेटिएकाे हो । मृत शरीर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
एक्लो छोरो सिंहको मृत्युसँगै परिवार बिचल्लीमा परेका छन् । सिंहको मृत्युसँगै उनका आमाबुबाको होस गुमेको छ र धनगढी अस्पतालमा उपचाररत रहेका छन् ।








