भदौं २६, काठमाडौं । नेपालका बाढी पहिरो पीडितको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नेतृत्वमा करिब ५० लाख रुपैयाँ संकलन गरीएको छ । सहयोग रकमको दोस्रो किस्ता एनआरएनले ५० दिनमा संकलन गरेको हो । पहिलो किस्तामा करिब २१ लाख रुपैयाँ बाढीपिडितहरुको लागि पठाइएको थियो ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले यस अभियानमा सहयोग गर्ने संघ, संस्था, प्रतिनिधिहरु लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “ संकलित सहयोग रकम छिट्टै नेपालमा बाढी पीडितको लागि आईसीसी मार्फत पठाइने छ। यो सहयोग रकमलाई हामीले पारदर्शी रुपमा नेपालमा पीडितहरुसम्म लैजानेछौं ।”
एनआरएनए अष्ट्रेलियाको यस अभियानमा चितवन समाज भिक्टोरिया, गुल्मी समाज भिक्टोरिया, नेपाल जनप्रगतिशील मञ्च अष्ट्रेलिया, रुपन्देही समाज, गोर्खा समाज, नर्दन विच नेप्लीज एशोसिएसन, गल्कोट समाज, डब्बो नेप्लीज एशोसिएसन, नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया, सगरमाथा क्रिकेट क्लब मेलबर्न लगायत इच्छुक व्यक्तिहरुले हातेमालो गरेका थिए । बाढी प्रभावित केही जिल्लाका अष्ट्रेलियास्थित समाजहरुले भने आफ्नै तवरमा सहयोग संकलन गरी राहत वितरण गरेका थिए ।








