‘गृहमन्त्री जनार्दनले प्रहरीलाई वाईसीएल र गुरिल्ला संगठन बनाए’

भदौ २५, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समिति सदस्य रामहरि खतिवडाले संसदमा गृहमन्त्रालय ध्वस्त बनाइएको बताएका छन् । प्रहरीलाई ध्वस्त बनाउनका लागि गृहमन्त्री जनार्दन शर्माका भाई भारदार र नेकपा माओवादी केन्द्र आफैं सक्रिय रहेको आरोप लागेको छ ।

माओवादीको वाइसीएल र पिएलए संगठन चलाउने नियतबाट अभिप्रेरित भएर जनार्दनले प्रहरीलाई गुरिल्ला संगठन बनाएको खतिवडाको अारोप छ । प्रदेशमा एआइजीलाई प्रमूख बनाएर निजामतिभन्दा माथिल्लो अधिकार दिएकोमा पनि खतिवडाले असन्तुष्ट व्यक्त गरेका छन् ।

प्रहरी संगठनको बढुवा, जिम्मेबारी र सरूवामा गृहमन्त्री शर्माका भाई अनिल शर्माको रजगज रहेको छ । त्यस्तै अवकाशप्राप्त एआइजीलाई आइजी बनाउन नसकेको गुण तिर्दै प्रहरी महानिरिक्षक (आइजी)लाई नङ्ग्रा नभएको विरालो बनाइएको छ । गृहमन्त्रीको सुरक्षा सल्लाहकारमा अवकाशप्राप्त एआइजी सुरेन्द्र शाहलाई नियुक्ति गरिएको छ । केपी ओली सरकारका पालामा उनलाई आइजी बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बचन दिएका थिए । सो बचन पूरा गर्न नसकेपछि गृहको सल्लाहकारमा नियुक्ति गरी संगठन हल्लाउने काम गरेकोप्रति खतिवडा क्रुद्ध छन् । ‘माओवादीका पालामा यस्ता काम भइरहेका छन् । कृष्णबहादुर महराले सशस्त्रको डिआइजी सल्लाहकार बनाउने, जनार्दनले एआइजी सल्लाहकार बनाउने अनि सिभिलियनको काम के हो ?’

विमानस्थलजस्तो ठाउँको सुरक्षा जिम्मेबारी सिभिलियनबाट खोसेर प्रहरीलाई दिनु माओवादीको गुरिल्ला सोचको उपज भएको बताउँदै खतिवडा थप्छन्,‘यसले संगठन विगारेको छ । पहिला ५ विकास क्षेत्रमा क्षेत्रीय प्रशाशकको माथाहतमा रहेको प्रहरीलाई त्यो भन्दा माथिल्लो दर्जालाई प्रदेशमा लगेपछि त्यसको नतिजा कस्तो आउँछ ? यो संघीयताको विरोधमा काम गरेका छन् ।’

सरूवा भएर गएका प्रमुख जिल्ला अधिकारीलाई २ सय ३३ दिनपनि बस्न नदिई मनलाग्दी जतापायो त्यता पठाउने अधिकार गृहमन्त्री र उनका सल्लाहकारलाई नभएको बताएका खतिवडाले भन्छन्,‘यो पाराले हुन्छ ?’

गृहमन्त्रालयले सुन तस्करलाई पक्राउ नगर्ने तर त्यसका भरियालाई कारवाहीमा लैजाने कामले अपराध नियन्त्रणमा भन्दा पनि संरक्षणमा भूमिका खेलेको जनाउँदै खतिवडा थप्छन्,‘के यो संघीय नेपालले रोजेको सपना हो ? तस्करलाई माफी दिने र भरिया जो गरिब छ उसले सजाय पाउने ?’ -साझा पोष्ट

सम्बन्धित शिर्षकहरु